इन्जिनियरिङ अध्ययन संस्थानले घोषणा गर्यो थप आन्दोलनका कार्यक्रम : पढाइदेखि परीक्षासम्म बन्द गर्ने चेतावनी

काठमाडौं : त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.स.), प्राध्यापक संघ र विभिन्न वैचारिक संघ-संगठनहरूले संयुक्त आन्दोलनका थप चरण र कार्यक्रमहरू सार्वजनिक गरेका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आन्दोलनको पछिल्लो विवरण र आगामी रणनीति सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्राध्यापक संघकी सदस्य प्रा. डा. संगीता सिंहले अहिलेसम्म आन्दोलन अन्तर्गत उपकुलपतिलाई मागपत्र बुझाइएकाे, कालोपट्टीसहितको धर्ना कार्यक्रम सञ्चालन गरिएको र संस्थानका विभिन्न पदाधिकारीहरूले सामूहिक स्वैच्छिक राजीनामा दिएको जानकारी दिइन्।
उनका अनुसार मागहरू पूरा नभएसम्म इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका सम्पूर्ण शैक्षिक गतिविधिहरू पठनपाठनदेखि परीक्षा कार्यसम्म पूर्ण रूपमा बन्द रहनेछ।
आन्दोलनकारीहरूको मुख्य माग इ.अ.स.मा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गर्नु हो। साथै, संस्थाको आर्थिक, शैक्षिक र प्रशासनिक स्वायत्ततामाथि हुने कुनै पनि हस्तक्षेप तुरुन्त खारेज गरिनुपर्ने माग गरिएको छ।
प्रा. सिंहले भनिन्, ‘यो आन्दोलन केवल एक संस्थाको स्वायत्तता रक्षा गर्ने प्रयत्न मात्र होइन, देशको सम्पूर्ण प्राविधिक भविष्य जोगाउने साझा जिम्मेवारी हो।’
उनले नीति निर्मातादेखि विद्यार्थी, शिक्षक, अभिभावक र आम नागरिकहरूसम्म सबैलाई संस्थागत स्वायत्तता, पारदर्शिता र जवाफदेहितासहितको गुणस्तरीय प्राविधिक शिक्षा प्रणाली निर्माणका लागि ऐक्यबद्धता जनाउन आग्रह गरिन्।
आन्दोलनमा थप दबाब सिर्जना गर्दै जाने र मागहरू पूरा नभएको अवस्थामा आन्दोलनलाई थप चर्काउने चेतावनी पनि कार्यक्रममा दिइन्।
असार २५, २०८२ बुधबार १७:१७:३८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।