भू-उपग्रहबाट लिइएको तस्बिरलाई बादलले छेकेपछि ल्हेन्दे खोलाको बाढीको कारण पत्ता लागेन

भू-उपग्रहबाट लिइएको तस्बिरलाई बादलले छेकेपछि ल्हेन्दे खोलाको बाढीको कारण पत्ता लागेन

काठमाडौं : चीन र नेपालको उच्च हिमाली क्षेत्रमाथि अझै बाक्लो बादल छाइरहेकाले रसुवाको ल्हेन्दे खोलामा आएको बाढीको कारण पत्ता लगाउन समस्या परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार भू-उपग्रहबाट तस्बिर लिने प्रयास गरिए पनि बादलले दृश्य स्पष्ट नभएकाले बाढीको स्रोत खुल्न नसकेको हो। नेपाल र चीन दुवैतर्फ सोमबारदेखि मंगलबारसम्मको २४ घण्टाको अवधिमा खासै वर्षा नभएको विभागले जानकारी दिएको छ। रसुवास्थित क्याञ्जिङ र धुञ्चे मौसमी केन्द्रहरूमा फाट्टफुट्ट मात्र वर्षा मापन गरिएको थियो।

विभागका बाढीविद् विनोद पराजुलीका अनुसार ठूलो वर्षा नभएकोले बाढीको कारण अन्य हुनसक्ने आशङ्का छ। ‘हिमताल फुटेको वा हिउँको ढिक्का खोलामा थुनिएर पछि फुटेको हुनसक्छ,’ पराजुलीले भने, ‘तर अहिलेको लागि यकिन भन्न सकिने स्थिति छैन। भू–उपग्रह विश्लेषणबाट थाहा पाउन सकिन्थ्यो तर बादलले त्यसमा पनि अवरोध पुर्याएको छ।’

यसैबीच, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले पनि बादलको कारण उपग्रह विश्लेषणमा अवरोध पुगेको पुष्टि गरेको छ। कारण पहिचानका लागि थप प्राविधिक विश्लेषण र अनुकूल मौसम पर्खिनुपर्ने अवस्था देखिएको छ।

असार २५, २०८२ बुधबार १६:३९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।