एमाले सांसदलाई कान खोलेर सुन्न आग्रह गर्दै सोविताले भनिन्- कसैले नेपाली नबुझ्दैमा मेरो भनाइ हटाउनुपर्ने?

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले प्रधानमन्त्रीको स्पेन भ्रमणबाट फर्किएका मानिसबारे आफ्नो भनाइ कायमै रहेको बताएकी छन्।
प्रतिनिधि सभा बैठकमा बोल्दै उनले आफ्नो भनाइको अपव्याख्या गरिएकाले एमालेलगायतका सांसदहरूलाई ‘राम्रोसँग कान खोलेर सुन्न’ आग्रह गर्दै आफ्नो अडान दोहोर्याइन्।
‘उहाँहरूको नेपाली भाषा बुझाइमा समस्या भएकै कारणले मेरो भनाइ हटाउनुपर्ने त होइन होला नि?’ भन्दै उनले आफ्नो भनाइको अपव्याख्या गर्नेलाई चुनौती दिइन्।
‘त्यो मेरो समस्या होइन, जसको समस्या हो उसैको उपचार गरियोस्। मैले बोलेको कुराको म पूर्ण जिम्मेवारी लिन्छु’, उनले स्पष्ट पारिन्।
गौतमले प्रधानमन्त्रीको आधिकारिक प्रतिनिधिमण्डल सबै कार्यक्रम सकेर नेपाल फर्किएको कुरा सत्य भएको भन्दै उनले भनिन्, ‘यो पनि सत्य हो, प्रधानमन्त्री जानुभएको कार्यक्रममा कार्यक्रमको बहानामा गएर सबै नेपाली फर्किएका छैनन्। उतै बसेका छन्।’
सांसद गौतमले आफूहरूले भिजिट भिसा प्रकरणमा आन्दोलन जारी राखेको पनि बताइन्।
असार २५, २०८२ बुधबार १३:४९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।