महिला टोलीका प्रशिक्षकले प्रधानमन्त्रीको भूमिकामाथि नै प्रश्न उठाएपछि पत्रकार सम्मेलन गर्दै एन्फा

काठमाडौं : नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डको पछिल्लो अभिव्यक्तिपछि अखिल नेपाल फुटबल संघ (एन्फा)ले पत्रकार सम्मेलन गर्दैछ।
एन्फाले दिउँसो साढे तीन बजे आफ्नो मुख्य कार्यालय सातदोबाटोमा पत्रकार सम्मेलन गर्दैछ। सम्मेलनमा एन्फा कार्यसमिति सदस्य सरिला श्रेष्ठ मलेकु, एन्फा प्राविधिक निर्देशक हरि खड्का, राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ र टिम व्यवस्थापक बिन्द्रा देवान सहभागी हुने बताइएको छ।
पत्रकार सम्मेलनले राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले हालै व्यक्त गरेका टिप्पणीहरू बारेमा सम्बोधन गर्ने र उज्वेकिस्तानमा सम्पन्न एएफसी महिला एसिया कप छनोट खेलहरूमा टोलीको प्रदर्शन बारेमा समीक्षा गरिने एन्फाले पत्रकारलाई पठाएको ईमेलमा उल्लेख गरिएको छ।
एएफसी महिला एसिया कप छनोटको खेलपछि मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले कान्तिपुर दैनिकसँग कुराकानी गर्दै एन्फाले प्राविधिक जनशक्ति र उपकरण उपलब्ध नगराएको बताएका थिए।
यसका अलावा उनले खेलाडीलाई आईसबाथ नभएको होस्टलजस्तो होटलमा राखिएको, खेलाडी र प्रशिक्षकलाई छुट्टा–छुट्टै होटलमा राख्न खोजिएको, आफूलाई दिइएका सहयोगीले ल्यापटप खोलेर तथ्यांकमा काम गर्न नसकेको तथा जीपीएस, ट्रेनिङ क्यामेरा र विश्लेषणका विवरणहरु नभएको भन्दै असन्तुष्टि पोखेका थिए।
आफू खेलाडीहरुको लागि मात्र भए पनि नेपाल फर्कन चाहेको भन्दै उनले त्यसका लागि एन्फाले व्यवस्थापन गनुपर्ने कुराहरुमा कम्प्रोमाइज गर्न नहुने धारणा राखेका थिए। उनले यदि आफू फर्किएमा गम्भीर रूपमा ठूलै काम गर्ने र नेपाली महिला फुटबलको स्वरूप परिवर्तन गर्ने बताएका छन्।
उज्वेकिस्तानसँगको खेलको अघिल्लो दिन प्रधानमन्त्रीले फोन गरेर खेलाडीलाई दबाब महसुस गराएको उनको भनाइ थियो। प्रधानमन्त्रीको फोनले खेलाडी र प्रशिक्षकलाई नभई अरुलाई नै फाइदा पुगेको उनको भनाइ थियो। उनले अन्य कुनै पनि देशका प्रधानमन्त्री वा राष्ट्रपतिले खेलअघि दबाब दिने नगरेको उनले बताएका थिए।
प्रधानमन्त्रीबारे टिप्पणी, एन्फाभित्रको राजनीति र खेलाडीको हितको बारेमा खरो टिप्पणी गरेका डे वाइल्डलाई आजको पत्रकार सम्मेलनमार्फत हटाइएको घोषणा हुनसक्ने खेल क्षेत्रका जानकारहरूको अनुमान छ।
डे वाइल्ड यूईएफए प्रो-लाइसेन्स प्रशिक्षक हुन्। नेपाली महिला टोलीले पहिलो पटक प्रो-लाइसेन्स प्रशिक्षकसँग प्रशिक्षण गरेको हो।
असार २५, २०८२ बुधबार १२:४१:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।