टेस्ट सन्यासबारे पहिलो पटक बोले विराट कोहली, बताए ‘दाह्री’वाला कारण

एजेन्सी : भारतीय क्रिकेटका स्टार विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णयबारे पहिलो पटक सार्वजनिक रूपमा बोलेका छन्। उनले लन्डनमा आयोजित एक कार्यक्रममा उमेरका कारण यो निर्णय लिएको संकेत गरे।
३६ वर्षीय कोहलीले गत १२ मे २०२५ मा सामाजिक सञ्जालमार्फत टेस्ट क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए। पूर्व क्रिकेटर युवराज सिंहको च्यारिटी संस्था ‘YouWeCan फाउन्डेसन’ को लागि लन्डनमा आयोजित डिनर पार्टीमा कोहलीले सन्यासको कारण उमेर बताएका हुन्।
पार्टीमा विश्वभरका क्रिकेट र अन्य क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रममा जब टिभी प्रस्तोता गौरव कपूरले दर्शकले उनलाई मैदानमा सम्झने बताए, तब विराटले मुस्कुराउँदै भने, ‘मैले दुई दिनअघि मात्रै दाह्री रंगाएको थिएँ। हरेक चार दिनमा आफ्नो दाह्री रंगाउनु पर्छ, तपाईंले बुझ्नुहुन्छ कि अब समय (सन्यासको) आयो।’
कोहलीले भारतका लागि १२३ टेस्ट खेलेका छन्। यसमा उनले २१० इनिङ्समा ४६.८५ को औसतमा ९,२३० रन बनाएका छन्। यस क्रममा उनले ३० शतक र ३१ अर्धशतक प्रहार गरेका छन्।
भारतका सबैभन्दा सफल टेस्ट कप्तान
ब्याटिङका साथै कोहली कप्तानको रूपमा पनि निकै सफल रहे। उनले ६८ टेस्टमा भारतको कप्तानी गरे, जसमा ४० खेलमा टोली विजयी भयो। ५८.८२ प्रतिशतको जित प्रतिशत सहित कोहली भारतका सबैभन्दा सफल टेस्ट कप्तान हुन्। ५० वा सोभन्दा बढी टेस्टमा कप्तानी गर्नेहरूमध्ये उनको जित प्रतिशत विश्वकै तेस्रो उत्कृष्ट हो।
विराट कोहलीले कप्तानको रूपमा कुनै आईसीसी प्रतियोगिताको उपाधि जित्न नसके पनि टेस्ट क्रिकेटमा उनको नेतृत्व क्षमता पूर्व कप्तान महेन्द्रसिंह धोनी र वर्तमान कप्तान रोहित शर्माभन्दा अगाडि मानिन्छ।
विशेषगरी घरेलु मैदानमा कप्तान कोहलीको रेकर्ड अद्वितीय छ। उनको कप्तानीमा भारतले खेलेका सबै ११ घरेलु टेस्ट शृङ्खला जितेको थियो। धोनी र रोहित दुवैको कप्तानीमा भारतले घरेलु मैदानमा टेस्ट शृङ्खलामा हार बेहोर्नु परेको छ।
कोहलीले सन् २०१५ मा दक्षिण अफ्रिका विरुद्ध घरेलु मैदानमा पहिलो पटक पूर्णकालीन कप्तानको रूपमा शृङ्खलाको नेतृत्व गरेका थिए। त्यो ४ टेस्टको शृङ्खला भारतले ३-० ले जितेको थियो। त्यसयता, कोहलीको कप्तानीमा भारतले घरेलु मैदानमा कुनै पनि टेस्ट शृङ्खला गुमाएन।
गत वर्ष (२०२४) विश्वकप जितेपछि कोहलीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए। उनी एकदिवसीय क्रिकेट खेल्न जारी राख्नेछन्।
उनी इन्डियन प्रिमियर लिग (आईपीएल) मा पनि सक्रिय छन्। यस वर्ष (२०२५) उनको टोली रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको उपाधि जितेको छ। कोहली २००८ देखि यस टोलीको अभिन्न अंग रहेका छन्।
असार २५, २०८२ बुधबार ११:२६:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।