त्रिवि क्रिकेट मैदानमा फ्लडलाइटका तीन वटा टावर काठमाडौं आइपुगे

काठमाडौं : काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई रात्रिकालीन खेलका लागि तयार गर्ने बहुप्रतिक्षित योजना अन्तर्गत फ्लडलाइट जडानका लागि तीन वटा टावरहरू काठमाडौं आइपुगेका छन्।
भारतबाट ल्याइएका यी टावरहरू बुधबार बिहान काठमाडौं आइपुगेको फ्लडलाइट जडान गरिरहेको कम्पनीका प्रोजेक्ट म्यानेजर सौरभ साहले जानकारी दिए। उनका अनुसार यी टावरहरू मैदानको बाहिर राखिएका छन्।
साहका अनुसार, पहिलो लटमा तीन वटा टावर र दोस्रो लटमा थप तीन वटा टावर आउने प्रक्रियामा छन्। मैदानमा कुल छ वटा फ्लडलाइटका टावरहरू हुनेछन्।
टावरमा राखिने लाइट भने यूरोपियन देशबाट आयात गरिनेछ। लाइट आउनका लागि अझै करिब ३ देखि ४ हप्तासम्मको समय लाग्ने अनुमान गरिएको छ।
त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानले नेपाली क्रिकेटका लागि महत्वपूर्ण फड्को मार्ने विश्वास गरिएको छ।
यसबाट मैदानमा रात्रिकालीन खेलहरू आयोजना गर्न सम्भव हुनेछ, जसले गर्दा प्रतियोगिताहरू लम्ब्याउन सकिनेछ भने अन्तर्राष्ट्रिय स्तरका खेलहरू पनि दिन-रात खेलाउन सकिनेछ।
फ्लडलाइट जडान कार्य समग्र मैदान स्तरोन्नतिको एक हिस्सा हो। हालसम्म फ्लडलाइटका लागि आवश्यक पर्ने बेस (जग) निर्माणको काम पूर्णरूपमा सकिएको छ भने तारहरू बिछ्याउने कार्य भइरहेको छ।
यसैगरी, प्यारापिटतर्फ दर्शकदीर्घामा सिट जडान गर्ने काम पनि द्रुत गतिमा भइरहेको छ।
असार २५, २०८२ बुधबार १०:५७:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।