दाउन्नेमा सडकै भासियो, पूर्वपश्चिम राजमार्ग बन्द

दाउन्नेमा सडकै भासियो, पूर्वपश्चिम राजमार्ग बन्द

नवलपरासी : पूर्वपश्चिम राजमार्गको महत्त्वपूर्ण खण्ड दाउन्ने अन्तर्गत पर्ने खुर्सानी खोलामा सडक भासिएपछि बर्दघाट-दुम्किबास क्षेत्रमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको छ।

गए राति परेको झरीपछि सडकको एक भाग ठूलो पहिरोसहित खसेको र सोही क्रममा त्यहाँबाट गुडिरहेको लु१क ५८२७ नम्बरको मालबाहक ट्रक सडकमै फसेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।

सडकमा ठूलो खाडल बनेका कारण यस खण्डमा दुईतर्फी सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, सडक अवरुद्ध भएपछि पूर्वबाट आउँदै गरेका सवारीसाधनहरु दुम्किबास नजिकै रोकिएका छन् भने पश्चिमबाट पूर्वतर्फ जाँदै गरेका गाडीहरु बर्दघाट बजारको टीसीएनचोक र आसपासमा रोकिएका छन्। राजमार्गमा सयौँ सवारीसाधनको लामो लाइन लागेको छ।

प्रहरी तथा सडक विभागका अधिकारीहरूले सडक खुलाउनका लागि प्रयास सुरु गरेपनि लगातारको वर्षा र सडकको अवस्था हेर्दा अवरोध हटाउन केही घण्टादेखि दिनभर लाग्न सक्ने अनुमान गरिएको छ।

खुर्सानी खोला क्षेत्र दाउन्नेमा बारम्बार सडक भासिने र पहिरो खस्ने संवेदनशील क्षेत्र हो। नारायणगढ-बुटवल सडक विस्तार आयोजना अन्तर्गत यो १४ किलोमिटर दाउन्ने खण्डको काम सुरू भएको वर्षौं बितिसक्दा पनि उल्लेख्य प्रगति हुन सकेको छैन।

पहाडी भूगोल र कमजोर भूबनोटमा भइरहेको अव्यवस्थित तथा सुस्त निर्माणका कारण यस क्षेत्रमा सामान्य वर्षा हुँदा पनि सडक भासिने, पहिरो खस्ने र हिलाम्मे हुने समस्या वर्षैपिच्छे दोहोरिने गरेको छ।

सडक विस्तारको काममा भएको ढिलाइ र त्यसको प्रत्यक्ष असर राजमार्गको आवागमनमा पर्दा यात्रुहरूले अनावश्यक सास्ती खेप्नुपरेको छ भने मालबाहक सवारी रोकिँदा आर्थिक क्षतिसमेत हुने गरेको छ।

सडक आयोजनाको काम यथाशीघ्र सम्पन्न गर्नुपर्नेमा सरोकारवाला निकायले ध्यान नदिँदा बर्खायाममा दाउन्नेको समस्या सामान्य बन्दै गएको यातायात व्यवसायीहरू बताउँछन्।

असार २५, २०८२ बुधबार ०९:२९:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।