नयनताराको डकुमेन्ट्रुी फेरि विवादमा : फुटेज हटाउन मद्रास उच्च अदालतको आदेश, ५ करोड क्षतिपूर्ति माग

नयनताराको डकुमेन्ट्रुी फेरि विवादमा : फुटेज हटाउन मद्रास उच्च अदालतको आदेश, ५ करोड क्षतिपूर्ति माग

काठमाडौं : दक्षिण भारतीय अभिनेत्री नयनतारा आफ्नो डकुमेन्ट्री ‘नयनतारा: बियोन्ड द फेयरी टेल’लाई लिएर फेरि विवादमा तानिएकी छन्।

एपी इन्टरनेशनल नामक कम्पनीले उनको डकुमेन्ट्रीमा अनुमति बिना आफ्नो फिल्मको फुटेज प्रयोग गरिएको भन्दै ५ करोड रुपैयाँको कानुनी सूचना पठाएको छ।

यो मामिला मद्रास उच्च अदालतसम्म पुगेको छ, जहाँ अदालतले सूचना जारी गर्दै सम्बन्धित पक्षसँग जवाफ मागेको छ र विवादास्पद फुटेज हटाउन आदेश दिएको छ।

सिनेमा एक्सप्रेसको रिपोर्ट अनुसार, एपी इन्टरनेशनल कम्पनीले वृत्तचित्रका निर्माताहरूले उनीहरूको चर्चित फिल्म ‘चन्द्रमुखी’को फुटेज अनुमति बिना नै प्रयोग गरेको आरोप लगाएको छ।

कम्पनीले यस विषयमा पहिले नै कानुनी सूचना पठाए पनि त्यसलाई बेवास्ता गरिएको दाबी गरेको छ। यसै क्रममा, अब कम्पनीले वृत्तचित्रका निर्माताहरूबाट ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेको छ।

मुद्दाको मंगलबार मद्रास उच्च अदालतमा सुनुवाइ भएको थियो। डकुमेन्ट्री स्ट्रिम भइरहेको प्लेटफम नेटफ्लिक्स र डकुमेन्ट्रीको निर्माण कम्पनी टर्क स्टुडियो एलएलपीको नाममा विवादास्पद फुटेज हटाउन आदेश दिएको छ। अदालतले दुवै पक्षलाई दुई हप्ताभित्र यस विषयमा लिखित जवाफ पेश गर्न पनि भनेको छ।

सन् २०२४ मा रिलिज भएको नयनताराको यो डकुमेन्ट्रीमा उनको व्यक्तिगत र व्यावसायिक जीवनका पाटा देखाइएको छ। तर, डकुमेन्ट्रीमा अनुमति बिना फुटेज प्रयोग गरिएको आरोप लागेको यो पहिलो पटक भने होइन।

यसअघि अभिनेता धनुषले पनि आफ्नो फिल्म ‘नानुम राउडी धन’का केही क्लिप्स अनुमतिविना नै वृत्तचित्रमा प्रयोग गरिएको भन्दै आपत्ति जनाएका थिए र मुद्दा दायर गरेका थिए।

यस नयाँ विवादले नयनताराको डकुमेन्ट्रीलाई पुनः चर्चामा ल्याएको छ र अदालतको आदेशपछि यसको आगामी प्रसारण तथा सामग्रीमा असर पर्ने देखिएको छ।

असार २५, २०८२ बुधबार ०८:२४:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।