प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवलोकन

प्रधानमन्त्री ओलीले गरे रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राति आएको भीषण बाढीका कारण क्षति पुगेका रसुवा र नुवाकोटका क्षेत्रहरूको स्थलगत निरीक्षण गरेका छन्। भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न विपद्‌को अवस्थाबारे जानकारी लिन उनी आज प्रभावित क्षेत्रमा पुगेका हुन्। 

प्रधानमन्त्री ओलीले स्थलगत अवलोकनका क्रममा स्थानीय प्रशासन, जनप्रतिनिधि र पीडित नागरिकहरूसँग छलफल गरेका थिए। बाढीबाट भएको मानवीय क्षति, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा सरकार संवेदनशील रहेको भन्दै उनले बेपत्ता भएकाहरूको अवस्थाप्रति चिन्ता व्यक्त गरे। 

रसुवागढी भन्सारको सुक्खा बन्दरगाहमा आएको क्षति, बगाइएका कन्टेनर र ट्रक, २० जना बेपत्ता भएको अवस्था र विद्युत् आयोजनामा परेको असरबारे जानकारी लिँदै प्रधानमन्त्री ओलीले चिन्ता प्रकट गरे। बाढीमा नेपाल प्रहरीका तीनजना, बन्दरगाहमा कार्यरत छ जना, कन्टेनर चालक तथा सहचालक पाँच जना र छ जना चिनियाँ नागरिक बेपत्ता छन्।

बाढीका कारण रसुवागढीको १११ मेघावाट क्षमताको जलविद्युत् आयोजना र २० मेघावाटको चिलिमे जलविद्युत् आयोजना पूर्ण रूपमा प्रभावित भएका छन्। त्यस्तै ल्हेन्दे खोलाको मितेरी पुल बगाउँदा नेपाल–चीन केरुङ नाका हुँदैको सिधा सम्बन्धसमेत अवरुद्ध भएको छ।

प्रधानमन्त्री ओली नेतृत्वको निरीक्षण टोलीमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति र चारै सुरक्षा निकायका प्रमुखसहित नेपालका लागि चिनियाँ राजदूत चेन सोङसमेत सहभागी थिए।

असार २४, २०८२ मंगलबार २०:०७:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।