जुम्लामा चट्याङले १ सय ९७ भेडाको ज्यान गयो, एक किसान घाइते

जुम्लामा चट्याङले १ सय ९७ भेडाको ज्यान गयो, एक किसान घाइते

जुम्ला : जुम्लाको गुठीचौर गाउँपालिका-५ स्थित धौलीगाडको ठूलो हाँका पाटनमा सोमबार अपराह्न परेको चट्याङले १ सय ९७ वटा भेडा मरेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक रवीनबाबु रेग्मीका अनुसार दिउँसो करिब ४ः३० बजे पाटनमा चराइमा लगिएका भेडाको बथानमा चट्याङ पर्दा ठूलो क्षति भएको हो।

‘पाटनमा छ जना किसानका भेडा मरेका छन्। कुन किसानका कति भेडा मरे भन्ने विवरण सङ्कलन भइरहेको छ,’ प्र.ना.उ रेग्मीले जानकारी दिए। चट्याङ पर्नासाथ स्थानीयवासी र सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको र मृत भेडाको गणना भइरहेको उनले बताए।

चट्याङ लागेर सिंजा गाउँपालिका भाडगाउँका ५२ वर्षीय किसान धनबहादुर रावत घाइते भएका छन्। उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।

घटनास्थल दुर्गम क्षेत्रमा परेकाले क्षतिको विस्तृत विवरण सङ्कलन गर्न केही समय लाग्ने बताइएको छ। स्थानीय प्रशासनले किसानलाई तत्काल राहत उपलब्ध गराउने तयारी गरिरहेको जनाएको छ।

असार २४, २०८२ मंगलबार १९:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।