सरकारी मोटरसाइकलमा बिना लाइसेन्स भैरहवा घुम्ने कार्यालय सहयोगी

सरकारी मोटरसाइकलमा बिना लाइसेन्स भैरहवा घुम्ने कार्यालय सहयोगी

बुटवल : शिक्षा विकास तथा समन्वय इकाई भैरहवाका कार्यालय सहयोगी शैलेन्द्र लोधले सरकारी मोटरसाइकलको खुलेआम दुरुपयोग गरेका छन्। रुपन्देहीको गैडहवा स्थायी घर भएका लोध हाल भैरहवामा बस्दै आएका छन्।

उनी सवारी चालक अनुमतिपत्र (लाइसेन्स) विना नै ‘प्र. ३-००१ ब १७१४’ नम्बरको सरकारी मोटरसाइकल चलाउँदै आएको पाइएको छ।

स्रोतका अनुसार लोध नियमित रूपमा हरेक शुक्रबार सरकारी मोटरसाइकलमा गैडहवा जाँदै आएका छन्। कार्यालय समयबाहेक पनि उनलाई भैरहवाका सडकमा मोटरसाइकल हाँकिरहेको खुलेको छ। झन्डै ९ महिनाअघि कार्यालयमा नियुक्त भएका लोध, सोही इकाईका लेखापाल महंगो लोधका सालो हुन्। महंगो लोध भन्सार कार्यालयमा लेखापालका रूपमा कार्यरत छन्।

शिक्षा इकाइमा लेखापालको दरबन्दी नभएकाले महंगो लोध नै बेला-बेला लेखापालको जिम्मेवारी सम्हाल्दै आएका छन्।
शैलेन्द्र लोधले भने आफूले कार्यालयको कामकै लागि मोटरसाइकल प्रयोग गर्ने दाबी गरे। ‘बजारमा त लैजान्न। अपिसको कामले हो मोटरसाईकल लैजाने। तर भोलीदेखि लैजान्न’, उनले भने। उनले लाइसेन्स नभएको पनि स्वीकार गरेका छन्।

कार्यालय प्रमुख माधव बञ्जाडेले लोधले एकपटक बाहिर मोटरसाइकल लगेको सूचना आफूले पनि पाएको बताए। उनले भने, ‘कोलेनीकामा जान परे लाइसेन्स भएकैलाई जान भनेको छु। फेरी त्यस्तो गरेको भए म सचेत गराउँछु। अब त्यो रोकिन्छ।’

असार २४, २०८२ मंगलबार १८:३५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।