‘झ्यानाकुटी’पछि आठ वर्षमा ‘सिटामोल’ मार्फत फर्किँदै सौगात-बेनिशा जोडी

‘झ्यानाकुटी’पछि आठ वर्षमा ‘सिटामोल’ मार्फत फर्किँदै सौगात-बेनिशा जोडी

काठमाडौं : सौगात मल्लको चर्चा त बेला-बेलामा चलिरहन्छन्, तर अभिनेत्री बेनिशा हमालको नाम भने त्यति सुनिँदैन। फिल्म खेले पनि बेनिशालाई दर्शकले खासै चासो नदिएको जस्तो देखिन्छ। तर, सन् २०१७ मा सार्वजनिक भएको ‘झ्यानाकुटी’ भने अपवाद साबित भएको थियो।

त्यस फिल्ममा सौगात र बेनिशाको गाउँले जोडीलाई दर्शकले निकै मन पराए। बोलचाल, हाउभाउ र डाइलग सबैले दर्शकलाई छोयो। विशेषगरी बेनिशाले बोलेको ‘यत्रो आलु!’ भन्ने संवाद त सामाजिक सञ्जाल र टिकटकमा यति भाइरल बन्यो कि त्यो संवाद नै बेनिशाको चिनारीजस्तो बन्यो।

त्यसबेलाको चर्चा हेर्दा लाग्थ्यो नेपाली फिल्ममा अब यो जोडी जम्नेछ। तर त्यस्तो भएन। ‘झ्यानाकुटी’पछि उनीहरूबीच कुनै सहकार्य देखिएन। न त निर्माताले पुनः यो जोडी खोजे, न निर्देशकले। सौगात र बेनिशा आ-आफ्नै बाटो लागे। बेनिशाले अन्य अभिनेतासँग स्क्रिन बाँडिन्, सौगात पनि आफ्नै धारमा अघि बढे।

तर करिब आठ वर्षपछि उनीहरूको जोडी फेरि फर्किएको छ- निर्देशक राज बहादुर सानेको नयाँ फिल्म ‘सिटामोल’मार्फत। ‘झ्यानाकुटी’मा पनि सानेकै निर्देशन थियो र अब ‘सिटामोल’मा पनि उनले यो जोडीलाई दोहोर्याएका छन्।

फिल्मको पोस्टर, टिजर र गीत सार्वजनिक भइसकेका छन् र युट्युबमा आएका कमेन्टहरूमा दर्शकले सौगात-बेनिशाको पुरानै केमिस्ट्री देखिएको भन्दै उत्साह व्यक्त गरिरहेका छन्।

‘सिटामोल’ गाउँले परिवेश र शसस्त्र द्वन्द्वको कथा हो। यो फिल्म साउन २३ गतेबाट प्रदर्शनमा आउँदैछ। तर सोही मितिमा बेनिशाकै अर्को फिल्म ‘मोहर’ पनि रिलिज हुँदैछ, जसमा उनी पल शाहसँग स्क्रिन बाँड्दैछिन्। दुवै फिल्ममा उनले गाउँले पात्रको भुमिका निर्वाह गरेकी छन्।

अब हेर्न बाँकी कुरा के छ भने दर्शकले आठ वर्षअघिको ‘झ्यानाकुटी’को स्वाद फेरि पाउँछन् कि पाउँदैनन् ? सौगात र बेनिशाको दोस्रो सहकार्यले उस्तै जादू ल्याउँछ कि फेरि बेपत्ता हुन्छ। त्यो त सिटामोल हेरेपछि नै थाहा हुनेछ।

असार २४, २०८२ मंगलबार १७:५९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।