किराना पसलमा १ अर्ब ५० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार, सानेपाबाट दुई भारतीय पक्राउ

किराना पसलमा १ अर्ब ५० करोडभन्दा बढीको क्रिप्टोकरेन्सी कारोबार, सानेपाबाट दुई भारतीय पक्राउ

काठमाडौं : केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले करिब १ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४३ वर्षीय रुपेश कुमार गुप्ता र २२ वर्षीय बिपिन कुमार रहेका छन्।

सीआईबीको टोलीले विशेष सूचनाका आधारमा ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलस्थित 'राजतिर्थ ट्रेडर्स' नामक किराना पसलमा छापा मार्दा किराना पसलको आवरणमा हुण्डी र क्रिप्टोकरेन्सी कारोबार हुँदै आएको पत्ता लागेको हो। सोही क्रममा दुवै जनालाई विभिन्न रकम र सामग्रीसहित नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका गुप्ताको पसलबाट ८ लाख २० हजार रुपैयाँ नेपाली, १० हजार भारतीय रुपैयाँ, पाँच थान मोबाइल र एक थान सीसीटिभी डीभीआर समेत बरामद गरिएको छ। अर्का पक्राउ परेका बिपिन कुमारबाट संरक्षित बन्यजन्तु कस्तुरीको विना जस्तो देखिने ७४ ग्रामको अखेटोपहार बरामद गरिएको छ।

उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत अभौतिक मुद्राको प्रयोग, हुण्डी कारोबार र बन्यजन्तु सम्बन्धी कसुरमा अनुसन्धान थालिएको सीआईबीले जनाएको छ।

प्रहरी उपरीक्षक तथा सीआईबीका प्रवक्ता युवराज खड्काले यस प्रकारका अवैध गतिविधिमा नफस्न आम नागरिकलाई आग्रह गर्दै यस्ता सूचना भएमा नजिकको प्रहरी कार्यालय वा ब्यूरोमा जानकारी गराउन अनुरोध गरेका छन्।

असार २४, २०८२ मंगलबार १७:०४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।