अस्ट्रेलियन टप इन्ड टी-२० सिरिजको खेल तालिका सार्वजनिक

काठमाडौं : अस्ट्रेलियामा आयोजना हुने ‘अस्ट्रेलियन टप इन्ड टी-२०’ क्रिकेट सिरिजको खेल तालिका सार्वजनिक भएको छ। आयोजक उत्तरी क्रिकेट सङ्घ (एनटी)ले मंगलबार तालिका सार्वजनिक गर्दै प्रतियोगिता अगस्ट १५ बाट सुरु हुने जानकारी दिएको हो।
तालिकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो पहिलो खेल अगस्त १५ मा घरेलु टोली नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। प्रतियोगितामा कुल ११ टोलीको सहभागिता रहनेछ। अन्तर्राष्ट्रिय टोलीतर्फ नेपालसँगै पाकिस्तान ‘ए’, बङ्गलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान सहभागी छन्।
त्यस्तै, अस्ट्रेलियाका बिगबास लिग (बीबीएल) का प्रतिष्ठित फ्रेन्चाइज टोली-होबार्ट हुरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर्स, मेलबर्न स्टार्स र मेलबर्न रेनेगेड्सका एकेडेमी टोलीले पनि प्रतियोगितामा भाग लिनेछन्।
नेपालले समूह चरणमा ६ खेल खेल्ने तालिका रहेको छ। दोस्रो खेलमा नेपालले अगस्त १६ मा बङ्गलादेश ‘ए’ सँग प्रतिस्पर्धा गर्नेछ। तेस्रो खेल अगस्त १८ मा मेलबर्न स्टार्स, चौथो खेल अगस्त १९ मा होबार्ट हुरिकेन्ससँग हुनेछ। पाँचौँ खेलमा नेपालले अगस्त २० मा मेलबर्न रेनेगेड्सविरुद्ध खेलेपछि, लिग चरणको अन्तिम खेल अगस्त २२ मा पाकिस्तान ‘शाहिन्स’ सँग खेल्नेछ।
प्रतियोगिताको लिग चरण सकिएपछि शीर्ष चार टोलीबीच सेमिफाइनल खेल हुनेछ।
नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार, नेपाली टोलीले यो प्रतियोगितालाई अक्टोबरमा हुने आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको तयारीका रूपमा लिएको हो।
असार २४, २०८२ मंगलबार १६:४५:१२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।