रसुवागढी बाढी अपडेट : ५७ जनाको सकुशल उद्धार, १८ जना अझै बेपत्ता

रसुवा : नेपाल-चीन सिमानास्थित ल्हेन्दे खोलामा सोमबार राति आएको भीषण बाढी र पहिरोमा फसेका ५७ जनाको सकुशल उद्धार गरिएको छ।
नेपाली सेनाका अनुसार उद्धार गरिएका मध्ये ३० जनालाई हेलिकोप्टरमार्फत र बाँकी २७ जनालाई टिमुरे इलाकासहित अन्य स्थानबाट स्थलगत रूपमा उद्दार गरिएको हो।
बाढी र पहिरोका कारण अहिलेसम्म १८ जना बेपत्ता छन्। बेपत्तामध्ये नेपाल प्रहरीका तीनजना- लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
यस्तै, बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु, बागलुङका नरेश विक, सिन्धुपाल्चोकका फुर्वा लामा, साथै ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ पनि सम्पर्कविहीन भएका छन्। थप ६ जना चिनियाँ नागरिक समेत बाढीमा परेर बेपत्ता भएका छन्।
बेपत्ता व्यक्तिहरुको खोजीका लागि नेपाली सेनाले सक्रियता बढाएको छ। धादिङस्थित ६ नम्बर बाहिनी अड्डाबाट गल्छी हुँदै १७ स्थानमा २९४ जना सेनासहितको टोली खटिएको छ। यस्तै, रसुवास्थित श्रीनाथ गणबाट थप फौज परिचालन गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।
यसबीच, त्रिशूली नदीका विभिन्न चार स्थानमा मानव शरीरका अङ्गहरू फेला परेको जानकारी पनि आएको छ। उद्धार तथा खोजी कार्यमा सेनासहितका सुरक्षाकर्मीहरू खटिएका छन् भने स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।
असार २४, २०८२ मंगलबार १६:३७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।