उपचार रोकेर अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिए डाक्टर

काठमाडौं : नेपाल चिकित्सक संघको आह्वानमा आज पनि देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारिएको छ।
आन्दोलनमा उत्रिएका चिकित्सकहरूले मंगलबार काठमाडौंको माइतीघरमा भेला भई प्रदर्शन समेत गरेका छन्। माइतीघरबाट बिजुलीबजार पुगेर पुन: माइतीघर नै आएर आजको डाक्टरले विरोध प्रदर्शन गरेका हुन्।
यो प्रदर्शन उपभोक्ता अदालतले दिएका पछिल्ला फैसलाहरूको विरोधमा गरिएको हो।
उपभोक्ता अदालतका फैसलाहरूले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप गरेर चिकित्सकहरूलाई हतोत्साही र असुरक्षित वातावरण सिर्जना गरेको नेपाल चिकित्सक संघको दाबी छ।
चिकित्सक संघसहित नौ वटा स्वास्थ्य सम्बद्ध संगठनहरू चिकित्सकीय लापरबाहीका मुद्दा नेपाल मेडिकल काउन्सिलले मात्र हेर्नुपर्ने परम्परालाई निरन्तरता दिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका छन्।
उपभोक्ता अदालतले हालसम्म ओम अस्पताल, हिमाल अस्पताल र ग्रान्डीसिटीका साथै उपचारमा संलग्न चिकित्सकलाई समेत क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला गरेको छ, जसको उनीहरूले विरोध गरिरहेका छन्।
अस्पतालको बहिरङ्ग सेवा बन्द हुँदा उपत्यकासहित देशभरका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीहरू बिचल्लीमा परेका छन्। नियमित स्वास्थ्य परीक्षण, फलोअप तथा अन्य उपचारका लागि अस्पताल पुगेका बिरामीहरूले सेवा नपाएपछि अलपत्र परेका छन्।
लामो समयदेखि पालो कुरेर बसेका र अपरेसनको मिति तय भइसकेका बिरामीहरूको शल्यक्रिया समेत रोकिएको छ। देशका विभिन्न भागबाट राजधानी तथा अन्य ठूला शहरका अस्पतालमा रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीहरुले समेत सास्ती भोग्नु परेको छ।
सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवालाई अत्यावश्यक सेवा घोषणा गरी हडताल गर्न निषेध गरे पनि चिकित्सक संघले स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो। अदालतको न्यायिक प्रक्रियालाई स्वीकार गरी पुनरावेदनमा जानुको सट्टा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा नै रोक्ने गरी आन्दोलनमा उत्रिएपछि यसको चर्को आलोचना भएको छ।
यसैबीच, नेपाल चिकित्सक संघका महासचिव डा. सञ्चिव तिवारीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ। अदालतको अवहेलना ठहरिए एक वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।
नेपाल चिकित्सक संघले असार २० गतेदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएको छ।
असार २४, २०८२ मंगलबार १३:५०:५८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।