भोटेकोशी बाढीले रसुवागढी पुर्‍याएको क्षतिप्रति रास्वपाको चिन्ता, सरकारलाई तत्काल कदम चाल्न आग्रह

भोटेकोशी बाढीले रसुवागढी पुर्‍याएको क्षतिप्रति रास्वपाको चिन्ता, सरकारलाई तत्काल कदम चाल्न आग्रह

काठमाडौं : चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीले नेपाल-चीन जोड्ने रसुवागढी-केरुङ नाकास्थित महत्वपूर्ण पूर्वाधारमा गम्भीर क्षति पुर्याएको र केही व्यक्ति बेपत्ता भएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो चिन्ता व्यक्त गरेको छ।

बाढीले मितेरी पुल र नेपालतर्फ रहेको सुख्खा बन्दरगाह जस्ता राष्ट्रिय महत्वका पूर्वाधारमा पुर्याएको क्षति र सोही घटनामा केही व्यक्ति सम्पर्कविहीन भएको दुःखद खबरले पार्टी अत्यन्तै मर्माहत र चिन्तित भएको रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गरेका हुन्। पार्टीले प्राकृतिक विपत्तिले निम्त्याएको यस मानवीय र भौतिक संकटप्रति गहिरो दुःख व्यक्त गरेको छ।

रास्वपाले बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी तथा उद्धारमा द्रुत एकीकृत पहल गर्न तथा प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरी अत्यावश्यक खाद्यान्न, लत्ताकपडा, औषधि-उपचार र अस्थायी बसोबासको भरपर्दो व्यवस्था मिलाउन सरकार समक्ष आग्रह गरेको छ।

विज्ञप्तिमा नेपालको अन्तर्राष्ट्रिय व्यापारका लागि जीवनरेखा मानिने रसुवागढी नाकाको मितेरी पुल र सुख्खा बन्दरगाहमा भएको क्षतिले अर्थतन्त्रमा समेत प्रत्यक्ष असर पार्ने उल्लेख छ। रास्वपाले यस क्षतिबारे प्राविधिक मूल्याङ्कन गरी पुनर्निर्माण कार्य तत्काल सुरु गर्ने गरी स्पष्ट कार्ययोजना सार्वजनिक गर्न पनि सरकार समक्ष माग गरेको छ।

भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक प्राविधिक सहकार्य तथा पूर्वसूचना प्रणाली जडानका लागि चिनियाँ पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद अगाडि बढाउन पनि रास्वपाले सरकारलाई ध्यानाकर्षण गराएको छ।

विज्ञप्तिमा नदी तटीय क्षेत्रमा रहेका बस्ती, पुल, सडक र अन्य महत्वपूर्ण संरचनाहरूको भौगर्भिक तथा वातावरणीय जोखिम मूल्याङ्कन गरी विपद् प्रतिरोधी मापदण्ड कडाइका साथ लागू गर्न सरकार चुकेको भन्दै रास्वपाले यसप्रति गम्भीर हुन आग्रह गरेको छ।

रास्वपाले भोटेकोशी लगायत देशका अन्य नदी तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउन र सरकारी निकायले जारी गरेका सूचनालाई पालना गर्न अनुरोध गरेको छ। साथै, रसुवासहित अन्य स्थानमा भएका प्राकृतिक विपद्का घटनाका प्रभावितको उद्धार, राहत र अन्य मानवीय सहयोगमा स्थानीय प्रशासनसँग समन्वय गरी सक्रियतापूर्वक जुट्न पार्टी पंक्तिलाई आह्वान पनि रास्वपाले गरेको छ।

विपत्तिको सामना तथा प्रभावितको उद्धार, राहत र पुनःस्थापनाको कार्यमा पार्टीको तर्फबाट सरकारलाई पूर्ण रचनात्मक सहयोग रहने प्रतिबद्धता पनि रास्वपाले व्यक्त गरेको प्रवक्ता झाले जनाएका छन्।

असार २४, २०८२ मंगलबार १३:०४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।