असार १० गते नै रसुवा प्रशासनले जारी गरेको थियो चीनबाट बाढी आउनसक्ने सूचना

काठमाडौं : रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित रसुवागढी नाकामा आज बिहान आएको भीषण बाढीमा परी १८ जना व्यक्ति बेपत्ता छन्। चीनतर्फबाट आएको बाढीबाट ठूलो भौतिक क्षति समेत भएको छ। तर, जिल्ला प्रशासन कार्यालय रसुवाले १४ दिनअघि अर्थात असार १० गते नै बाढी आउनसक्ने भन्दै पूर्वतयारी र सावधानी अपनाउन सूचित गरेको देखिन्छ।
प्रशासनले एक सूचना प्रकाशित गर्दै सक्रिय मनसुन प्रणाली र चीनको तिब्बत क्षेत्रमा मुहान भई रसुवा जिल्लामा प्रवाह क्षेत्र बनाई बहने नदीहरूको चालु सक्रिय मनसुनका कारण बहाव बढ्न गई नदी तटीय क्षेत्र आसपासका बस्ती, निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्र आसपासमा अवस्थित कार्यालय/संरचनाहरूमा विपद्को जोखिम बढ्न सक्ने सम्भावना रहेको भन्दै आवश्यक पूर्वतयारी र सावधानी अपनाउनका लागि चिनियाँ पक्षाबाट सूचना प्राप्त भएको जनाएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीद्वारा हस्ताक्षरित उक्त सूचनामा भोटेकोशी, त्रिशुली, लाङटाङ खोला, चिलिमे खोला लगायत यस जिल्लामा अवस्थित अन्य नदी/खोला आसपासका क्षेत्रमा बाढी पहिरोजन्य विपद्को जोखिम रहेकाले उक्त क्षेत्रहरूमा बसोबास गर्ने आम जनसमुदाय, नदी आसपासमा निर्माणाधिन तथा सञ्चालित आयोजनाहरू र नदीको तटीय क्षेत्रमा अवस्थित कार्यालयहरूलाई आवश्यक पूर्वतयारी एवम् सावधानी अपनाउन विशेष अनुरोध गरिएको थियो।
साथै, सम्भावित विपद्बाट यस जिल्लामा सञ्चालित सडक मार्गहरूमा समेत क्षति पुग्न सक्ने भएकाले यातायातका साधन सञ्चालन गर्दा र यात्रा गर्दा आवश्यक सावधानी अपनाउन समेत अनुरोध गरिएको थियो।
उक्त पूर्वसूचना जारी भएको १४ दिनपछि आज बिहान करिब ३ बजे चीनतर्फको केरुङ र ल्हेन्दे नदीमा आएको अविरल वर्षापछिको बाढी अकस्मात् रसुवागढी भन्सार कार्यालयको यार्डमा प्रवेश गर्यो। भीषण बाढीले नेपाल-चीन जोड्ने मितेरी पुललाई पूर्ण रूपमा बगाएर ध्वस्त पारेको छ।
टिमुरे भन्सार कार्यालयको यार्डमा पार्किङ गरिएका कयौं सवारीसाधन बगाएको छ भने ईभी चार्जिंग स्टेशनमा समेत क्षति पुगेको छ र ७/८ वटा ईभी गाडीहरू बाढीले बगाएको छ। रसुवागढी हाइड्रोपावरको ड्याममा पनि क्षति पुगेको छ। बाढीका कारण पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चेदेखि टिमुरे सम्मको सडक खण्ड पनि अवरुद्ध भएको छ।
यस बाढीमा परी १८ जना व्यक्ति सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरी बलले बेपत्ता हुने व्यक्तिहरूको सूची सार्वजनिक गरेको छ। जसअनुसार, नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा बेपत्ता छन्।
यसका अतिरिक्त, टिमुरे भन्सार क्षेत्रमा काम गर्ने नौ जना नेपाली नागरिक कामदार तथा चालकहरू बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ बेपत्ता छन्। बेपत्ता हुने ६ जना चिनियाँ नागरिकहरू यु युई, लि ह्वाकिङ, याङ छुयान, यु हाइ हाङ, यु छियायो क्यू र जोउ योङ रहेको सशस्त्र प्रहरीले जनाएको छ।
बाढी आउन सुरु भए लगत्तै बिहान करिब ३ बजेर ३० मिनेटबाटै स्थानीय प्रशासन र सुरक्षा निकायले उद्धार कार्य सुरु गरेको थियो। विभिन्न सुरक्षा निकायका ९४ जना भन्दा बढी जनशक्ति उद्धारमा खटिएका थिए। यसक्रममा ९ जना व्यक्तिहरूको भने यसअघि नै सकुशल उद्धार गरिएको थियो। हाल बेपत्ता १८ जनाको खोजी कार्यलाई युद्धस्तरमा अघि बढाइएको छ।
रसुवाको बाढीकै कारण बगेर आएको हुन सक्ने प्रबल सम्भावनासहित त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा मानव शरीरका अंग तथा शवहरु फेला पर्न थालेका छन्। नुवाकोटको विदुर नगरपालिका-४, सिंचाइस्थित त्रिशुली नदीमा मानव खुट्टा फेला परेको सशस्त्र प्रहरी निरीक्षक दिनेश घिमिरेले पुष्टि गरे।
यसका अतिरिक्त, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार गल्छी गाउँपालिका-२ क्यउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशुली नदी किनारमा दुईवटा पुरुषको शव फेला परेको छ। शवको अवस्था हेर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान गरिएको डिएसपी हमालले बताए।
बाढीबाट पुगेको यस गम्भीर भौतिक तथा मानवीय क्षति, विशेष गरी बेपत्ता व्यक्तिहरुको अवस्था र समग्र परिस्थितिको तत्काल समीक्षा गरी आवश्यक कदम चाल्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्दैछ। बैठकमा बाढीको पछिल्लो अवस्था, उद्धार, राहत, बेपत्ताको खोजी र क्षतिको मूल्याङ्कन लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ।
बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण अझै आउन बाँकी छ भने बेपत्ता व्यक्तिहरुको खोजी कार्य र तल्लो तटीय क्षेत्रमा थप मानव अंग वा शव फेला पर्न सक्ने सम्भावना रहेकाले खोजी तथा निगरानी जारी राखिएको छ।
सम्बन्धित समाचार:
असार २४, २०८२ मंगलबार १२:५२:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।