नेपाल टेलिकमको इन्टरनेट सेवा रातिदेखि नै प्रभावित

नेपाल टेलिकमको इन्टरनेट सेवा रातिदेखि नै प्रभावित

काठमाडौं : नेपाल टेलिकमको इन्टरनेट सेवा प्रभावित भएको छ। अन्तर्राष्ट्रिय सेवा प्रदायकको नेटवर्कमा समस्या आएका कारण ग्राहकहरूले प्रयोग गर्ने इन्टरनेटको गति सुस्त भएको टेलिकमले जनाएको छ।

टेलिकमले आज एक सूचना जारी गर्दै मंगलबार विहान १:३० बजेदेखि एउटा अन्तर्राष्ट्रिय सेवा प्रदायकको नेटवर्कमा समस्या उत्पन्न भएको उल्लेख गरेको छ।

टेलिकमले विभिन्न अन्तर्राष्ट्रिय सेवा प्रदायकहरूबाट इन्टरनेट ब्यान्डविथ खरिद गरी ग्राहकलाई सेवा प्रदान गर्दै आएकोमा मुख्य स्रोतमध्ये एकमा समस्या आएपछि सम्पूर्ण ट्राफिक वैकल्पिक सेवा प्रदायकको लिङ्कमार्फत पठाइएको टेलिकमले उल्लेख गरेको छ।

यस कारण वैकल्पिक लिङ्कमा अत्यधिक चाप पर्न गई इन्टरनेटको गतिमा केही समस्या उत्पन्न भएको टेलिकमले जनाएको छ।

कम्पनीले तत्काल समस्या समाधान गरी सेवा पुनर्स्थापना गर्ने प्रयास जारी रहेको बताएको छ। अप्रत्याशित रूपमा सिर्जित यस परिस्थितिका कारण सेवामा समस्या आई ग्राहकवर्गमा पर्न गएको असुविधा प्रति कम्पनीले क्षमा मागेको छ।

नेपाल टेलिकमले यथाशीघ्र सेवालाई सामान्य अवस्थामा फर्काउनका लागि आवश्यक कार्य गरिरहेको जनाएको छ।

असार २४, २०८२ मंगलबार १२:३६:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।