रुपन्देही-३ उपनिर्वाचन : एमाले पृष्ठभूमिका बालेनका सल्लाहकार गिरी स्वतन्त्र लड्ने तयारीमा

बुटवल : आगामी कार्तिक १७ गते रुपन्देही-३ मा हुन लागेको उपनिर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय सदस्य तथा खाद्य सल्लाहकार सन्तोष गिरीले स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका छन्।
निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेसँगै स्वतन्त्र उम्मेदवारहरूले उम्मेदवारी दिने तयारी गरिरहेका छन्। यसै क्रममा बालेनका सल्लाहकार गिरीको नाम बाहिरिएको हो।
बालेनको ‘कोर टिम’मा रहेर काम गरेका गिरीले स्थानीय शुभेच्छुकहरूको निरन्तर आग्रहपछि उम्मेदवार बन्ने सोच बनाएको बताएका छन्। रुपन्देहीको तिलोत्तमा-६ स्थित पश्चिम पहुनीमा घर भएका ३३ वर्षीय गिरीले विद्यार्थी राजनीतिबाट आएका हुन् र उनी अनेरास्ववियू रुपन्देहीको सहसचिव समेत बनिसकेका छन्।
पृष्ठभूमि एमाले भए पनि बालेनको टिमसँग आबद्ध भएपछि उनी स्वतन्त्र बनेका थिए। अर्थशास्त्रमा एमए र एलएलबी गरेका गिरी हाल नेपाल स्वीस चेम्बर अफ कमर्शको प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत छन्।
‘स्थानीय शुभेच्छुकहरूबाट निरन्तर आग्रह आइरहेकाले उम्मेदवार बन्ने सोच बनाएको हुँ,’ गिरीले भने, ‘तर हतारमा घोषणा गरेको छैन, साउन भित्र सबै प्रष्ट हुन्छ।’
उम्मेदवारीको सम्भावना अध्ययन गर्न उनले आफ्ना केही प्रतिनिधिहरूलाई रुपन्देही पठाइसकेको स्रोत बताउँछ। उनीहरूले जनताको घरदैलोमा पुगेर प्रारम्भिक अध्ययन गरिरहेका छन्। सो अध्ययनको नतिजापछि गिरीले उम्मेदवारी दिने वा नदिनेबारे अन्तिम निर्णय गर्नेछन्।
रास्वपाको समेत समर्थन खोज्दै गिरी
गिरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समेत समर्थन खोज्ने आशा राखेका छन्। यद्यपि रास्वपाबाट यसअघि सागर ढकालको नाम चर्चामा आए पनि पार्टीले स्थानीय स्तरकै नेतालाई उम्मेदवार बनाउने बताइरहेको छ। रास्वपाका कार्यवाहक अध्यक्ष डीबी अर्यालले स्थानीय तर नयाँ अनुहारलाई प्राथमिकता दिने बताएका छन्।
गिरी निकट एक युवाका अनुसार, ‘बालेनको समर्थन र रास्वपाको पनि समर्थन भए विजयी निश्चित हुने हामीले देखेका छौं। रास्वपासँग छलफल भएको छैन, तर छलफलको तयारीमा छौँ।’
रास्वपा र बालेनको समर्थन गिरीलाई भएको खण्डमा यसलाई २०८४ सालको आम निर्वाचनको ‘टेस्ट’ का रूपमा हेरिएको छ। रास्वपाभित्र पनि क्षेत्रीय सभापति मधु अर्याल र सहकारी अभियन्ता ज्ञानु पौड्याल लगायत धेरै आकांक्षी रहेकाले पार्टीको निर्णय के हुन्छ, अहिले भन्न सकिँदैन।
यो निर्वाचन क्षेत्रमा २०७९ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपक बोहोरा विजयी भएका थिए। उनको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो। उक्त निर्वाचनमा एमालेले राप्रपालाई सघाएको थियो, जसका कारण तत्कालिन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण बोहोरासँग पराजित भएका थिए।
पुराना दलका सम्भावित उम्मेदवार
नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले र राप्रपा लगायतका प्रमुख दलहरूले अझै औपचारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि कार्यकर्ता तथा स्थानीय स्तरमा सम्भावित उम्मेदवारबारे चर्चा चलिरहेको छ।
नेपाली कांग्रेसबाट पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम अग्रपंक्तिमा छ। भुटानी शरणार्थी प्रकरणमा जोडिएका खाँण मनोनयनको दिनअघि आफ्नो मुद्दाको किनारा लगाएर निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा रहेको बताइन्छ। यसबाहेक भरत शाह, प्रमोद यादव र पुष्पा चौधरीको नाम पनि चर्चामा छ।
एमालेबाट खिमलाल भट्टराईको सम्भावना बलियो देखिएको छ। व्यवसायी शशी पौडेल, पूर्व प्रदेश सांसद दधिराम न्यौपाने र सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि अधिकारीको नाम पनि चर्चामा छ। माओवादी केन्द्रबाट हकिकुल्लाह खाँको नाम चर्चामा छ।
नागरिक उन्मुक्ति पार्टी सहितका दलबाट नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङको नाम पनि चर्चामा आएको छ, यद्यपि उनको नाम माओवादीबाट पनि चर्चामा ल्याइएको छ।
राप्रपाबाट स्वर्गीय दीपक बोहराका छोराहरू गौरव र प्रज्ज्वल तथा नातिनी स्वाती थापामध्ये एक जना उम्मेदवार हुने सम्भावना छ। गौरवलाई रास्वपाले समेत आफ्नो उम्मेदवारका रूपमा हेरिरहेको चर्चा छ।
२०७९ को चुनावमा रुपन्देही ३ मा समानुपातिकतर्फ नेपाली कांग्रेसले २० हजार २७८, एमालेले १६ हजार ९८६ मत, रास्वपाले १४ हजार १५४ र राप्रपाले ९ हजार १८३ मत प्राप्त गरेका थिए।
असार २४, २०८२ मंगलबार १२:२६:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।