यी हुन् रसुवाको बाढीमा बेपत्ता हुने १८ जना

काठमाडौं : रसुवाको गोसाइकुण्ड गाउँपालिकास्थित रसुवागढी नाकामा आज बिहान आएको भीषण बाढीमा परी बेपत्ता भएका १८ जनाको सूची सशस्त्र प्रहरी बलले सार्वजनिक गरेको छ। बेपत्ता हुनेमा नेपाल प्रहरीका कर्मचारी, नेपाली नागरिक कामदार र चिनियाँ नागरिक रहेका छन्।
सशस्त्र प्रहरी बलका अनुसार, बेपत्ता हुनेमा नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय, टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा छन्।
यसबाहेक नौ जना नेपाली नागरिकहरू बेपत्ता भएका छन्। उनीहरू विशेषगरी टिमुरे भन्सार क्षेत्रमा काम गर्ने कामदारहरू हुन्।
बेपत्ता हुने नेपाली नागरिकहरूमा बर्दियाका जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान र हाइलक्स चालक लोकमान तामाङ रहेका छन्।
त्यसैगरी, बेपत्ता हुने चिनियाँ नागरिकहरूमा यु युई, लि ह्वाकिङ, याङ छुयान, यु हाइ हाङ, यु छियायो क्यू र जोउ योङ रहनुभएको सशस्त्र प्रहरीले जनाएको छ।
मंगलबार बिहान करिब ३ बजे चीनतर्फको केरुङ र लेन्दे नदीमा आएको अविरल वर्षा र त्यसपछिको बाढीले रसुवागढी क्षेत्रमा अकस्मात् प्रवेश गरी ठूलो वितण्डा मच्चाएको थियो।
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रुपमा ध्वस्त पारेको छ भने टिमुरे भन्सार कार्यालयको यार्डमा रहेका कयौं सवारीसाधन बगाएको, ईभी चार्जिंग स्टेशन र रसुवागढी हाईड्रोपावरको ड्याममा क्षति पुर्याएको छ। यसका साथै, पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चेदेखि टिमुरे सम्मको सडक खण्ड समेत अवरुद्ध भएको छ।
बाढी आउन सुरू भए लगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायले उद्धार कार्य सुरू गरेको थियो। विभिन्न सुरक्षा निकायका ९४ जना भन्दा बढी जनशक्ति उद्धारमा खटिएका थिए। यस क्रममा ९ जना व्यक्तिहरूको भने यसअघि नै सकुशल उद्धार गरिएको थियो। हाल बेपत्ता १८ जनाको खोजी कार्यलाई तीव्रता दिइएको छ।
रसुवाको बाढीकै प्रभावले बगाएर ल्याएको हुन सक्ने आशंकामा त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा मानव शरीरका अंग तथा शवहरू फेला परेका छन्। नुवाकोटको विदुर नगरपालिका-४, सिंचाइस्थित त्रिशुली नदीमा मानव खुट्टा फेला परेको सशस्त्र प्रहरी निरीक्षक दिनेश घिमिरेले पुष्टि गरेका छन्।
यसका अतिरिक्त, जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार गल्छी गाउँपालिका-२ क्यउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशुली नदी किनारमा दुईवटा पुरुषको शव फेला परेको छ। शवको अवस्था हेर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान गरिएको डिएसपी हमालले बताए।
बाढीबाट पुगेको गम्भीर भौतिक तथा मानवीय क्षति, बेपत्ता व्यक्तिहरूको अवस्था र समग्र परिस्थितिको समीक्षा गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक दिउँसो १ बजे गृह मन्त्रालयमा बस्दैछ। बैठकमा बाढीको समग्र अवस्था, उद्धार, राहत, सम्पर्कविहीनको खोजी र क्षतिको मूल्याङ्कन लगायतका विषयमा गहन छलफल हुनेछ।
बाढीले पुर्याएको क्षतिको पूर्ण विवरण आउन अझै बाँकी छ भने बेपत्ता व्यक्तिहरुको खोजी कार्य जारी छ।
सम्बन्धित समाचार:
असार २४, २०८२ मंगलबार १२:००:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।