रसुवागढी बाढी : केन्द्रीय सुरक्षा समिति र विपद प्राधिकरणको आकस्मिक बैठक बस्दै

काठमाडौं : रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकास्थित रसुवागढी नाकामा आएको भीषण बाढी र त्यसबाट भएको गम्भीर क्षतिका विषयमा छलफल गर्न केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक आज दिउँसो १ बजे गृह मन्त्रालयमा बस्ने भएको छ।
बैठकमा बाढीको पछिल्लो अवस्था, उद्धार तथा राहत कार्यको समीक्षा, सम्पर्कविहीन व्यक्तिहरूको खोजी प्रयासलाई थप प्रभावकारी बनाउने रणनीति र बाढीले पुर्याएको क्षतिको मूल्याङ्कन तथा भावी पुनर्निर्माणका विषयमा छलफल हुने बताइएको छ।
मंगलबार बिहान करिब ३ बजे चीनतर्फको केरुङ र लेन्दे नदीमा आएको अविरल वर्षा र त्यसपछिको बाढीले रसुवागढी क्षेत्रमा ठूलो वितण्डा मच्चाएको थियो। बाढीले नेपाल-चीन जोड्ने मितेरी पुललाई पूर्ण रुपमा बगाएर ध्वस्त पारेको छ।
यसका अतिरिक्त, टिमुरे भन्सार कार्यालयको यार्डमा पार्किङ गरिएका कयौं सवारीसाधन बगाएको, ईभी चार्जिंग स्टेशनमा क्षति पुर्याएको र रसुवागढी हाईड्रोपावरको ड्याममा समेत क्षति पुगेको छ। बाढीका कारण पासाङल्हामु राजमार्गअन्तर्गत धुन्चेदेखि टिमुरे सम्मको सडक खण्ड पनि अवरुद्ध भएको छ।
बाढीमा परी उद्धार कार्यका लागि खटिएका ३ जना प्रहरी कर्मचारीसहित हालसम्म १८ जना व्यक्ति सम्पर्कविहीन रहेका छन्। उनीहरुको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ। यद्यपि, ९ जनाको भने यसअघि नै सकुशल उद्धार गरिएको थियो।
रसुवाको बाढीकै प्रभावले नदीमा बगेर आएको हुन सक्ने आशंकामा नुवाकोटको विदुर नगरपालिका-४, सिंचाइस्थित त्रिशुली नदीमा मानव शरीरको एक खुट्टा फेला परेको सशस्त्र प्रहरी निरीक्षक दिनेश घिमिरेले पुष्टि गरेका छन्।
यसका अतिरिक्त जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालका अनुसार गल्छी गाउँपालिका-२ क्यउरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशुली नदी किनारमा २ वटा शव फेला परेको छ।
शवको अवस्था अवलोकन गर्दा तत्काल भएको घटनामा उनीहरूको मृत्यु भएको अनुमान रहेको हमालले बताए। शवको स्थिति र आकृति अनुसार मृतक दुवै जना पुरुष रहेका छन्।
बाढीबाट पुगेको ठूलो भौतिक तथा मानवीय क्षतिलाई मध्यनजर गर्दै सरकारले उच्चस्तरीय बैठक बोलाई परिस्थितिको समग्र समीक्षा गरी भावी कदम चाल्न लागेको हो।
सम्बन्धित समाचार:
असार २४, २०८२ मंगलबार ११:३८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।