नुवाकोटको त्रिशुली नदीमा मानव खुट्टा भेटियो

काठमाडौं : नुवाकोटको विदुर नगरपालिका भएर बग्ने त्रिशुली नदीमा मानव शरीरको अंग फेला परेको छ।
विदुर नगरपालिका-४, सिंचाइस्थित त्रिशुली नदी किनारमा एक मानिसको खुट्टा भेटिएको उद्धार कार्यमा खटिएका सशस्त्र प्रहरी निरीक्षक दिनेश घिमिरेले उकेरालाई जानकारी दिए।
निरीक्षक घिमिरेका अनुसार, भौतिक क्षतिको विवरण संकलन भइरहेका बेला त्रिशुली नदीमा एक मानिसको खुट्टा फेला परेको हो। हाल उक्त खुट्टा निकाल्ने कार्य भइरहेको र शव भने फेला नपरेको उनले बताए।
खुट्टा मात्रै भेटिएकाले तत्काल कसको खुट्टा वा शव हो भन्ने पहिचान गर्न नसकिने अवस्था रहेको उनले स्पष्ट पारे।
चीनको केरुङ र लेन्दे नदीमा आएको बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल पूर्ण रुपमा क्षतिग्रस्त बनाएको छ। यस बाढीले टिमुरेस्थित भन्सार कार्यालयको यार्डमा राखिएका विभिन्न सवारीसाधन समेत बगाएको छ।
आज बिहान करिब ३ बजे बाढी आएपछि उद्धार कार्यमा खटिएका तीन प्रहरी कर्मचारीसहित १८ जना व्यक्तिहरू हालसम्म पनि सम्पर्कविहीन छन्। नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरुको खोजी तथा उद्धार कार्य जारी राखेको छ।
त्रिशुली नदीमा भेटिएको मानव खुट्टा यसै बाढीसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ।
यसैबीच, नुवाकोटको विदुर नगरपालिका-९ इन्द्रेणीघाटस्थित त्रिशुली नदीको बीचमा रहेको सिसौको रुखमा फसेका पाल्तेन तामाङ र उनकी पत्नी मंगली तामाङको भने नेपाली सेनाको हेलिकप्टरबाट सकुशल उद्धार गरिएको थियो।
सम्बन्धित समाचार:
असार २४, २०८२ मंगलबार १०:२९:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।