रसुवागढी बाढी अपडेट : उद्धारमा खटिएका तीन प्रहरीसहित १८ जना सम्पर्कविहीन

काठमाडौं : उत्तरी छिमेकी चीनसँगको एक प्रमुख व्यापारिक नाका रसुवागढीस्थित भोटेकोशी नदीमा आएको भीषण र अप्रत्याशित बाढीले ठूलो मानवीय संकट निम्त्याएको छ। बाढीपछि उद्धारमा खटिएका तीन जना नेपाल प्रहरीका जवानसहित १८ जना सम्पर्कविहीन भएका छन्।
‘सम्पर्कविहीन हुने १८ जनामध्ये तीन जना नेपाल प्रहरी, नौ जना अन्य नेपाली नागरिक र छ जना चिनियाँ नागरिक रहेका छन्। बाढी आएलगत्तै उद्धार तथा खोजी कार्य सुरू गरिए पनि उनीहरूको अवस्था अझै अज्ञात छ’, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले उकेरासँग भने।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीका अनुसार, बाढीले टिमुरेस्थित रसुवा भन्सार कार्यालयको यार्डमा व्यापक क्षति पुर्याएको छ।
यार्डमा राखिएका करिब सात वटा विद्युतीय गाडी (ईभी) समेत बाढीको तीव्र धारले बगाएको छ। झनै डरलाग्दो कुरा त के छ भने, बगाइएका ती ईभी गाडीहरू वा सोही भन्सार यार्ड क्षेत्रमा केही मानिसहरू रहेको हुनसक्ने आशंका गरिएको छ।
बेपत्ता भएका १८ जनामध्ये केही टिमुरे भन्सार कार्यालयसँग सम्बन्धित कर्मचारीहरू रहेको र अन्य उद्धारका लागि सुरूमै खटिएका नेपाल प्रहरीको टोली सदस्य रहेको अधिकारीले जानकारी दिए।
स्थानीयका अनुसार, गएराति करिब तीन बजेदेखि भोटेकोशी नदीको बहाव अप्रत्याशित रूपमा बढेर भीषण बाढीको रूप लिएको थियो।
तिब्बत क्षेत्रमा भएको भारी वर्षाका कारण एक्कासी जलस्तर बढेको र त्यसले यति ठूलो मानवीय क्षति पुर्याएको हो। बाढी आएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा बेपत्ताको खोजी तथा उद्धार कार्य सुरू गरिए पनि अहिलेसम्म कोही पनि फेला परेका छैनन्।
बाढीको जोखिमका कारण नदी प्रभावित क्षेत्र मैलुङमा रहेको अस्थायी प्रहरी चौकी समेत जोखिममा परेपछि त्यहाँ खटिएका प्रहरी कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यसबाहेक, रसुवागढी नजिकै रहेको रसुवागढी हाइड्रोपावरको ड्याममा समेत बाढीले क्षति पुर्याएको छ।
भोटेकोशी नदीमा आकस्मिक बाढीको जोखिम रहने हुँदा जिल्ला प्रशासन कार्यालय रसुवाले यसअघि नै जिल्लावासी र विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी अधिकारीले हालको भीषण बाढीको स्थितिलाई ध्यानमा राख्दै बेत्रावती लगायतका तटीय क्षेत्रहरूमा स्थानीय प्रशासनले पुनः सूचना जारी गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी किनारमा कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ।
असार २४, २०८२ मंगलबार ०८:१९:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।