भोटेकोशीमा भीषण बाढी : रसुवागढी भन्सार यार्डमा रहेका सात ईभीसहित नेपाल-चीन जोड्ने पुल पनि बगायो

काठमाडौं : उत्तरी छिमेकी चीनसँगको व्यापारिक नाका रसुवागढी जोड्ने एक मात्र नेपाल-चीन मितेरी पुल भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएको छ।
तिब्बत क्षेत्रमा भएको भारी वर्षाका कारण नदीमा जलस्तर अप्रत्याशित रूपमा बढेर आएको बाढीले रसुवा भन्सार कार्यालयको यार्डमा राखिएका करिब सातवटा विद्युतीय गाडी (ईभी) समेत बगाएको छ।
जिल्ला प्रहरी कार्यालय, रसुवाका अनुसार गएरातिदेखि भोटेकोशी नदीको बहावमा आएको अत्यधिक वृद्धिका कारण सीमा जोड्ने महत्वपूर्ण संरचना मितेरी पुल पूर्ण रूपमा क्षतिग्रस्त भई बगेको हो। यस घटनाले रसुवागढी नाका भएर हुने यातायात तथा व्यापार पूर्ण रूपमा ठप्प भएको छ।
जिल्ला प्रहरी कार्यालयका सई ज्योतिराम केसीका अनुसार बाढीले टिमुरे बजार क्षेत्रमा तत्काल ठूलो भौतिक क्षति नगरे पनि रसुवागढी नाका पार गर्न चीनतर्फ जाने प्रतीक्षामा रहेका केही मालबाहक ट्रकहरूलाई भने प्रभावित पारेको छ। बाढीको बहाव ट्रकहरूको आधा भागसम्म पुगेर पुरेको उनले उकेरासँग बताए।
स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार गएराति तीन बजेदेखि नै नदीको बहाव एक्कासी बढ्न थालेको थियो। बिहान ६ बजेसम्म बाढीले रौद्र रूप लिए पनि त्यसपछि भने जलस्तर केही घट्दै गएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी द्रुव प्रसाद अधिकारीले स्थानीय रेडियो लाङटाङसँगको कुराकानीमा बाढीले टिमुरेस्थित रसुवा भन्सार कार्यालयको यार्डमा समेत व्यापक क्षति पुर्याएको जानकारी दिए। उनका अनुसार, भन्सार परिसरमा भन्सार प्रक्रियामा रहेका सातवटा विद्युतीय गाडी (ईभी) बाढीको तीव्र धारले बगाएको छ।
यार्डमा क्षतिका साथै दुईतर्फबाट आएको बाढीका कारण केही मानिसहरू सोही यार्ड क्षेत्रमा फसेको भन्ने खबर आएको पौडेलले पुष्टि गर्नुभयो।
‘उहाँहरूको सकुशल उद्धारका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली तत्कालै घटनास्थलतर्फ खटिसकिएको छ’, उनले भने।
यद्यपि, भन्सार यार्डका केही ईभी गाडीभित्र मानिस फसेको भन्ने अपुष्ट खबर आएको र त्यसको यकिन विवरण आउन बाँकी रहेको पनि उनले बताए। घटना र क्षतिको पूर्ण विवरण संकलन कार्य तीव्र रूपमा भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
बाढीको जोखिमका कारण नदी प्रभावित क्षेत्र मैलुङमा रहेको अस्थायी प्रहरी चौकी समेत जोखिममा परेपछि त्यहाँ खटिएका प्रहरी कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारिएको छ। यसबाहेक, रसुवागढी नजिकै रहेको रसुवागढी हाइड्रोपावरको ड्याममा समेत बाढीले केही क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
भोटेकोशी नदीमा आकस्मिक बाढीको जोखिम रहने हुँदा जिल्ला प्रशासन कार्यालय रसुवाले यसअघि नै जिल्लावासी र विशेषगरी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै आएको थियो।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले हालको भीषण बाढीको स्थितिलाई ध्यानमा राख्दै बेत्रावती लगायतका तटीय क्षेत्रहरूमा स्थानीय प्रशासनले पुनः सूचना जारी गरी स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा रहन र नदी किनारमा कुनै पनि क्रियाकलाप नगर्न कडाईका साथ अनुरोध गरेको जानकारी दिए।
प्रशासनले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र क्षतिको मूल्यांकनका लागि आवश्यक समन्वय गरिरहेको जनाएको छ।
असार २४, २०८२ मंगलबार ०७:१२:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।