छानबिन कार्यदलले औंल्याएको एनपिएलमा क्यानको बदमासी : टेण्डरमा सिन्डिकेट, खरिद कानुन उल्लङ्घन

काठमाडाैं : नेपाल प्रिमियर लिगको पहिलो शृङ्खलामा भएको बदमासीबारे परेको उजुरीमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदको ‘नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानबिन कार्यदल’ ले सार्वजनिक खरिद ऐन लगायतका कानुनी प्रावधान उल्लङ्घनसहित कानुन विपरीत काम गरेको निष्कर्ष निकालेको छ।
कार्यदलले तेस्रो पटक पठाएको पाँच बुँदे पत्रमा उल्लेखित प्रश्नमा सार्वजनिक खरिद ऐनको उल्लङ्घन गरेर प्रशारण अधिकार दिएको, स्पष्ट मिति नखुलाएर गोलमटोल बोलपत्र निकालेको, राष्ट्रिय खेलकुद विकास ऐनको प्रावधान विपरीत स्वीकृति नै नलिई विदेशी परामर्शदाता नियुक्त गरेको र स्वदेशी प्रशारण संस्थाले प्रतिस्पर्धा नै गर्न नसक्ने सर्त राखेर सिन्डिकेट गरेको देखिन्छ।
पत्रमा नेपाल क्रिकेट संघले प्रस्ट उल्लङ्घन गरेको कानुनी प्रावधान उल्लेख गरेर त्यसको आधार र प्रमाणबारे सोधिएको छ।
यता छानबिन जारी रहेकै बेलामा क्यानले एनपिएलको दोस्रो सिजनको तयारी गरेको छ। पत्रमा राखेपले माग गरेको एनपिएल सम्बन्धी करोबारको सक्कली प्रमाण पेश नगरेसम्म एनपिएलको दोस्रो संस्करणको काम अघि नबढाउन चेतावनी दिएको छ।
राखेपले क्यानलाई पठाएको पत्रमा भनिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गरी कार्य सम्पन्न नहुँदासम्म नेपाल प्रिमियर लिग सम्बन्धी कुनै कार्य नगर्नु, नगराउनु हुन समेत जानकारी गराइन्छ।’
एनपिएलको पहिलो सिजनमा अपारदर्शक तरिकाले आयोजना गरेको भन्दै उकेराले प्रमाण सहित निरन्तर समाचार प्रकाशित गर्दै आएको छ।
गत जेठ १४ गते पनि क्यानलाई राखेपले पत्र पठाएको थियो। जसमा जेठ २१ गते क्यानले जवाफ पठाएकोमा भावनात्मक र कुतर्क सहितको जवाफ पठाएको थियो।
राखेपले दोस्रो पत्रमा क्यानलाई विना प्रतिस्पर्धा विदेशी कम्पनी रहेको टिसिएमलाई कसरी चयन गरेको, ठेक्काको प्रक्रियामा किन नगएको, नेपालको सार्वजनिक खरिद सम्बन्धी कानुन किन पालना नगरेको, नेपालमै कम्पनी दर्ता हुँदाहुँदै टिसिएम दुबइको नाममा भुक्तानी गरेर विदेशी मुद्दा अपचलन गरेको बारे छानबिन छानबिन समितिले १० प्रश्न सोधेको थियो।
यसमा पनि क्यानले प्रमाण नभएर भावनात्मक जवाफ दिएको थियो। क्यानले राखेपलाई ‘एनपिएलले नेपाली खेल क्षेत्रमा चमत्कार गरेको’ जस्ता अमूर्त जवाफ दिएपछि तथ्य र प्रमाण पेश गर्न छानबिन समितिले बारम्बार ताकेता गर्दा पनि क्यानले भने एनपिएलको खर्चको सक्कल प्रमाण राखेपलाई समेत उपलब्ध गराएन। त्यसपछि क्यानलाई तेस्रो पटक जवाफ पठाउन राखेपले पत्र काटेको छ।
उकेराले प्राप्त गरेको पत्र असार २१ गते आइतबार क्यानलाई पठाएको देखिन्छ। तेस्रो पत्रमा राखेपले भावनात्मक जवाफ नपठाउन समेत भनेको छ।
पत्रमा भनिएको छ, ‘सूचना र तथ्य प्रदान नगरी केबल झारा टार्ने उद्देश्यबाट अभिप्रेरित भइ केबल सतही उत्तर प्रदान गरेको कारणले छानबिन कार्यदल निष्कर्षमा पुग्न नसकेको अवस्था विद्यमान देखिएको कारणबाट अन्तिम पटक उल्लेखित प्रश्नहरूको तथ्यपरक, यथार्थपरक, वस्तुनिष्ठ, एवं अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सम्बन्धमा स्पष्ट जवाफ पेश गर्ने सकिने खालको विवरण पत्र प्राप्त भएको मितिले १२ घण्टा भित्र पेश गर्न हुन मिति २०८२ असार २२ को निर्णय अनुसार जानकारी गराइन्छ।’
राखेपले आइतबार पठाएको पत्रमा १२ घण्टामा पत्रको जवाफ पठाउनु भने पनि हालसम्म जवाफ नपठाएको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता छानबिन कार्यदलकी अध्यक्ष रञ्जना प्रधानले उकेरालाई बताइन्। ‘क्यानबाट अहिलेसम्म कुनै पनि जवाफ आएको छैन,’ प्रधानले उकेरासँग भनिन्।
तेस्रो पत्रमा क्यानले एनपिएल आयोजना गर्दा उल्लङ्घन गरेका कानुन उल्लेख गर्दै त्यसको आधार र प्रमाण मागेको छ। पत्रमा उल्लेख गरिएका प्रश्नहरू
क) नेपाल क्रिकेट संघ, राष्ट्रिय खेलकुद परिषदमा विधान बमोजिम स्थापित संस्थाले सेवा तथा वस्तु खरिदमा सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ को प्रतिकूल कार्य गरी एनपिएल को प्रशारण सम्बन्धी कार्य गर्न तपाईंलाई कुन ऐनले अधिकार दियो ?
ख) त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने भन्ने निर्णय लामो समय अगाडि नै भइ सके पनि त्यस संघबाट निकालिएको बोलपत्रमा स्पष्ट समय नखुलाइ गोलमटोल ढंगबाट सार्वजनिक सूचना प्रकाशित गरी स्वस्थ प्रतिस्पर्धा नहुने अवस्था किन सृजना गर्नु भएको हो ?
ग) त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने क्रममा विदेशी परामर्शदाताको रुपमा श्री मनिस सुदर्शन पाण्डे जो भारतीय नागरिक हुन उनले परामर्शदाता सम्बन्धी कार्य गराउँदा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४४ (२) विपरीत कार्य गर्न मिल्छ ?
घ) त्यस संघबाट आयोजित एनपिएल प्रतियोगिता आयोजना गर्ने क्रममा स्वदेशी प्रसारणकर्ता कम्पनीहरूलाई प्रतिस्पर्धामा आउन नसक्ने गरी त्यस खालको सङ्कुचित क्राइट एरिया बनाई सिन्डीकेट कायम गर्न मिल्छ ?
ङ) यसै पत्रका साथ संलग्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता नम्बर c-०३०२२ मिति २०८१/०८/०७ र उजुरी दर्ता नम्बर c-०४९८७६ मिति २०८१/११/१२ मा दर्ता भएको उजुरी समेत राखी पठाइएको छ। उक्त उजुरीमा उल्लेख गरिएका विषयवस्तुका सम्बन्धमा स्पष्ट पार्नु पर्ने दायित्व नेपाल क्रिकेट संघको हो ? होइन ?
अत: उक्त दुई वटै उजुरीमा उल्लेखित एनपिएल प्रतियोगिताका सम्बन्धमा उठेका विषय वस्तु स्पष्ट पारी छानबिन कार्यदल निष्कर्षमा पुग्न सहयोग गरिदिनुहुन जानकारी गराइन्छ। अन्यथा कानुन बमोजिम भई जाने ब्यहोरा जानकारी गराइन्छ।’ भनी जवाफ पठाउन राखेपले क्यानलाई पत्र पठाएको हो।
यो पनि:-
एनपीएलको ‘फन्टासी स्पोर्ट्स पार्टनर’ ड्रिम११ नेपालमा वैध कि अवैध?
एनपीएलको खेल मैदानमा भेटिए दुई भारतीय सट्टेबाज, खेलाडीदेखि टिम पदाधिकारीसम्म प्रहरी निगरानीमा
सुदूरपश्चिमको जर्सीमा पनि सट्टेबाजीको प्रचार, टिमकै खेलाडी जैबले टेपले छोपेर खेले
एनपीएलको जुवा खेलाउने चार जना पक्राउ, जुवाको प्रचार गर्ने क्यानलाई उन्मुक्ति
जुवा अड्डा बन्दै त्रिवि मैदान, लुम्बिनीको जर्सीबाट पनि सट्टेबाजीको प्रचार
एनपीएलमा जुवाको प्रचार रोक्न गृहले काठमाडौँ सिडिओलाई पत्र काट्यो, राखेप भन्छ ‘क्यानलाई सोध्छौँ’
‘युवा आइकन’ पारसको ‘जुवा आइकन’ यात्रा, एनपिएलमा जुवाको प्रचारमा नियामकको निष्क्रियतामा विज्ञ छक्क
जुवाबारे नियामक निकायको पत्र छल्दै क्यान सचिव पारस, राखेपदेखि विज्ञापन बोर्डसम्म जवाफ कुर्दै
फन्दामा पारस : एनपिएलको बदमासी छानबिन गर्न परिषद्ले गठन गर्यो समिति
एनपिएलका विजेता टिमले पाएनन् पुरस्कार रकम, फ्रेन्चाइज टिमलाई दिइएन आम्दानी र खर्चको विवरण
क्यानलाई एनपिएल अनियमितताबारे राखेपको १० प्रश्न : विदेशी मुद्रा दुरुपयोगदेखि टेन्डरसम्म छानबिनमा
असार २३, २०८२ सोमबार २१:४२:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।