त्रिवि उपकुलपति सिफारिस समितिले तीन जनाको नाम प्रधानमन्त्रीलाई बुझायो

त्रिवि उपकुलपति सिफारिस समितिले तीन जनाको नाम प्रधानमन्त्रीलाई बुझायो

काठमाडौं : त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि सिफारिस समितिले तीनजनाको नाम प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीसमक्ष पेश गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको संयोजकत्वमा गठन गरिएको समितिले आज ती नामहरू सिफारिस गरेको हो।

सिफारिसमा परेका तीन जना उम्मेदवार वर्णानुक्रमअनुसार निमित्त उपकुलपति प्रा. डा. खड्ग केसी, त्रिविको विज्ञान संकायका पूर्व डिन प्रा. डा. विनिल अर्याल, र जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्व प्रमुख प्रा. डा. दीपक अर्याल रहेका छन्।

गत चैत २८ गते उपकुलपति प्रा. डा. केशरजंग बरालले राजीनामा दिएपछि त्यसको तीन दिनपछि, चैत ३१ गते प्रधानमन्त्री ओलीले शिक्षाध्यक्ष प्रा. डा. केसीलाई तीन महिनाका लागि कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका थिए।

त्यसपछि जेठ ६ गते प्रधानमन्त्री ओलीले शिक्षामन्त्री पन्तको अध्यक्षतामा राष्ट्रिय योजना आयोगका शिक्षा क्षेत्र हेर्ने सदस्य र शिक्षा मन्त्रालयका सचिव रहने गरी सिफारिस समिति गठन गरेका थिए। 

असार २३, २०८२ सोमबार २०:३४:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।