केकीको गुनासो : हिरोको समय नमिल्दा सुटिङ रोकिन्छ, हिरोइनको नमिल्दा हिरोइन नै फेरिन्छ

केकीको गुनासो : हिरोको समय नमिल्दा सुटिङ रोकिन्छ, हिरोइनको नमिल्दा हिरोइन नै फेरिन्छ

काठमाडौं : नेपालको फिल्म क्षेत्र अहिले कलाकारको पारिश्रमिक कति हो भन्ने बहसमा अल्झिएको देखिन्छ। निर्माता–निर्देशकदेखि मिडियाकर्मीहरू यो विषयमा खुब चासो राख्छन्। विशेष गरी अभिनेत्रीहरूको पारिश्रमिक पुरुष कलाकारको तुलनामा निकै कम हुने गरेको गुनासो आउँछ। तर अभिनेत्री तथा निर्मात्री केकी अधिकारीले यो विभेद केवल पारिश्रमिकमा सीमित नभएर कलाकार छनोटमा पनि रहेको खुलासा गरेकी छन्। उनले भनिन्, ‘हिरोको समय मिलेन भने सुटिङै रोकिन्छ, तर हिरोइनको समय नमिल्दा सजिलै अर्की ल्याइन्छ।’

केकीले नेपाली फिल्म क्षेत्रमा अभिनेत्रीहरूलाई अझै पनि दोस्रो दर्जामा राखिएको गुनासो गरिन्। फिल्म ‘जनै हराएको मान्छे’ को पोस्टर सार्वजनिक कार्यक्रममा उनले आफ्नै अनुभव सुनाउँदै हिरोको प्राथमिकता र हिरोइनको सहज प्रतिस्थापनप्रति असन्तुष्टि जनाइन्।

उनले भनिन्, ‘आज पनि फिमेल कलाकारहरू सेकेन्ड च्वाइसमा पर्छन्। जति सुकै हिट फिल्म दिएकी भए पनि, पहिले मेल कलाकारको समय हेर्छन् अनि मात्र हिरोइन टुंगो लगाउँछन्। मिरुना मगरजस्ता अभिनेत्रीले लगातार सफल फिल्म दिएकी छन्, तर उनको समयभन्दा पहिले हिरोको समय मिल्नुपर्छ भन्ने मानसिकता अझै पनि कायम छ।’

केकीले फिल्म साइन गरिसके पनि मेल कलाकारसँग समय नमिल्दा अभिनेत्रीलाई एक फोनमै हटाउने काम फिल्म निर्माता र निर्देशकहरूबाट भइरहने बताइन्। ‘धेरै फिल्ममा मैले अनुबन्ध गरिसकेको छु, तर मेल कलाकारले समय नदिँदा मलाई बिना छलफल हटाइएको छ। हामीलाई निकै सजिलै रिप्लेस गरिन्छ, यो कुरा निकै चोट लाग्ने खालको हो,’ उनले भनिन्।

पारिश्रमिकको सन्दर्भमा पनि उनले अभिनेता र अभिनेत्रीबीच ठूलो अन्तर रहेको उल्लेख गरिन्। ‘पारिश्रमिकको कुरा त दोस्रो भयो, तर हाम्रो प्राथमिकताको स्तर नै कमजोर बनाइएको छ,’ उनले भनिन्।

केकीका अनुसार यो प्रवृत्ति हटाउन कलाकार स्वयं सचेत हुनुपर्छ। ‘हामीले नै आफूलाई सशक्त बनाउनु पर्छ, त्यो ठाउँ बनाउन नसकेको हुन सक्छ भन्ने आत्ममूल्यांकन पनि गर्न जरुरी छ,’ उनले भनिन्।

असार २३, २०८२ सोमबार २०:१८:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।