‘तक्मे बुढा’ निर्देशक बन्ने, धिरजलाई लिएर ‘मैझारो’ बनाउँदै

काठमाडौं : ‘तक्मे बुढा’का नामले चिनिने हास्य कलाकार विल्सन विक्रम राईले निर्देशनमा डेब्यु गर्ने भएका छन्। उनले आफ्नो पहिलो निर्देशन रहने फिल्म ‘मैझारो’ का लागि अभिनेता धिरज मगरलाई अनुबन्ध गर्दै सोमबार फिल्म निर्माणको औपचारिक घोषणा गरेका हुन्।
तक्मे प्रोडक्सनको ब्यानरमा बन्ने फिल्म ‘मैझारो’ मा धिरज मगर मुख्य भूमिकामा देखिने तय भएको छ। फिल्मका अन्य कलाकारहरूको टुंगो भने लगाइएको छैन। निर्देशक राईका अनुसार, नयाँ र पुराना कलाकारहरूको संयोजन रहनेछ। फिल्मको छायांकन सौरभ लामाले गर्नेछन् भने संगीतमा अनमोल गुरुङ र तोरेम्पा हाङ राई रहनेछन्।
फिल्म निर्देशनमा आउनुको कारणबारे उनले उकेरा सँग भने, ‘मलाई एउटा कुरा भन्नु छ। मसँग एउटा कथा छ, जुन भन्न मन लागेको धेरै भयो। अरूको कथामा अभिनय गर्दा-गर्दै लागेको थियो, अब त आफ्नै कथा भन्नुपर्छ। त्यसैले निर्देशन गर्न लागेँ।’
राईले दर्शकले मैझारो मा कमेडीसँगै फरक ढंगको प्रेमकथा पनि पाउने बताए। ‘कमेडी त हुन्छ नै, तर यो केवल हाँसोको कथा होइन,’ उनले भने, ‘यो फिल्म एकदमै फरक र गहिरो प्रेमकथा बोकेको छ।’
फिल्ममा हालसम्म चारवटा गीत तयार भइसकेका छन् भने आवश्यकताअनुसार थप्न सकिने निर्देशक राईले जनाएका छन्। राजेशपायल राई लगायतका चर्चित गायकगायिकाको स्वर रहने गीतमा अनमोल गुरुङ र तोरेम्पा हाङ राईको संगीत हुनेछ।
‘मैझारो’को छायांकन साउनको पहिलो साताबाट इलाम र पाँचथरमा सुरु हुने तय भएको छ। यसअघि राईले हास्य टेलिश्रृंखला फुर्के नम्बर १ लेखन, निर्देशन र निर्माण गरेका थिए। उनी आफैंले विभिन्न गीतहरूमा स्वर दिँदै संगीत यात्रामा पनि सक्रिय छन्।
असार २३, २०८२ सोमबार १९:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।