५२ लाख बढी हिनामिना गरेको आरोपमा हँसपुर नगरपालिकाका पूर्वउपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

५२ लाख बढी हिनामिना गरेको आरोपमा हँसपुर नगरपालिकाका पूर्वउपप्रमुखसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा

जनकपुर : धनुषाको हँसपुर नगरपालिकामा सार्वजनिक सम्पत्तिको हिनामिना र आर्थिक अनियमितता गरेको अभियोगमा ९ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा दायर गरेको आरोपपत्रमा नगरपालिकाका तत्कालीन उपप्रमुख रेणु देवी झा, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर, लेखापाल, खरिदार र निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसमेत ९ जनालाई प्रतिवादी बनाइएको हो।

आयोगका अनुसार हँसपुर नगरपालिका–५ सुगा निकासदेखि कट्टीसम्मको पीसीसी ढलान योजनामा कार्यअनुसार टुक्रा–टुक्रामा रकम भुक्तानी गरिनु, गलत नापजाँचका आधारमा बढी रकम निकासा हुनु, समयावधि सकिँदासमेत कानुनी प्रक्रिया नअपनाई समय थप गरिनु, कार्यसम्पादन जमानत नलिइ सम्झौता अन्त्य हुनु जस्ता गम्भीर अनियमितता देखिएको हो।

उक्त योजना आर्थिक वर्ष २०७६/७७ को नगरसभाबाट स्वीकृत १ करोड रुपैयाँ बजेटमा सञ्चालन गरिएको थियो। निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसँग सम्झौता गरी काम गराइएको भए पनि स्थलगत निरीक्षणबाट वास्तविकभन्दा बढी काम देखाई झन्डै ८ लाख रुपैयाँ बढी भुक्तानी दिइएको अख्तियारको दाबी छ।

आयोगले कुल ५२ लाख ७२ हजार १६८ रुपैयाँ बराबरको हिनामिना भएको ठहर गर्दै प्रमुख प्रशासकीय अधिकृत अधिकारीमाथि ४४ लाख ९० हजार, निमित्त अधिकृत रामलोचन मण्डलमाथि ७ लाख ८१ हजार, इन्जिनियर दिनेश कुमार मण्डलमाथि ३६ लाख २२ हजार, खरिदार शत्रुधन साहमाथि २८ लाख ४० हजार, लेखापाल नेत्र लुँगेलीमाथि ५२ लाख ७२ हजार र सव–इन्जिनियर विनोद कुमार मण्डलमाथि ७ लाख ८१ हजार रुपैयाँको बिगो दाबी गरिएको छ।

आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विभिन्न दफाहरुमा मुद्दा दायर गर्दै कैद, जरिवाना र बिगो असुलीको मागसमेत गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

असार २३, २०८२ सोमबार १९:०२:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।