‘कुलिङ पिरियड’ प्रकरण छानबिन गर्न बन्यो ७ सदस्यीय विशेष समिति

काठमाडौं : संघीय निजामती सेवा विधेयकमा भएको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी हेरफेरको विषयमा छानबिन गर्न ७ सदस्यीय विशेष समिति गठन गरिएको छ। उक्त समितिको संयोजकमा नेपाली कांग्रेसका सांसद जीवन परियार चयन भएका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले समितिको गठनको घोषणा गर्दै छानबिनका लागि २१ दिनको समय दिएका छन्। समितिलाई चार बुँदे कार्यादेश दिइएको छ।
समितिमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधित्व गरेका छन्।
सदस्यहरूमा नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, एमालेबाट नारायणप्रसाद आचार्य र ईश्वरी घर्ती, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहेका छन्।
सभामुखसँगको छलफलपछि दलहरूले आ–आफ्नो पार्टीबाट सदस्यहरूको नाम सिफारिस गरेका थिए।
प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम समितिको गठन गरिएको हो।
असार २३, २०८२ सोमबार १७:२६:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।