नेपालको पर्यटनमा अपार सम्भावना छ, तर साइकल चढेर कोही आउँदैन जहाज चाहिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पर्यटन क्षेत्रको समुन्नत विकासका लागि पूर्वाधार निर्माण र आत्मनिर्भरतालाई अपरिहार्य शर्तको रूपमा औँल्याएका छन्।
'नेपालमा पर्यटनः अवस्था, चुनौती र सम्भावना' विषयक राष्ट्रिय गोष्ठीमा सोमबार बोल्दै प्रधानमन्त्री ओलीले पर्यटनको सम्भावना अपार भए पनि त्यसलाई उपयोग गर्न रणनीतिक पूर्वाधार, नीति र स्थानीय क्षमता आवश्यक रहेको बताए।
‘पर्यटन क्षेत्रको विकासका राम्रा सम्भावनाहरू नेपालमा छन्, त्यसमा हामीले ध्यान दिनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘साइकल चढेर कोही आउँदैन, जहाज चाहिन्छ। राम्रा विमानस्थलहरू, राम्रा विमानहरू र सहज उडान वातावरण चाहिन्छ। टुरिजम फस्टाउन पर्यटनमैत्री पूर्वाधार र नीति आवश्यक छ।’
उनले नेपालका नागरिकलाई परिश्रमी र सक्षम जनशक्ति भएको उल्लेख गर्दै विदेशमा रोजगारी गरिरहेका तीन लाख नेपालीको उदाहरण दिए। ‘कामकै लागि तीन लाख नेपाली विदेशमा छन्, दुनियाँले काम गर्ने जाति भनेर नेपालीलाई चिन्छ,’ उनले भने।
प्रधानमन्त्री ओलीले विकासका लागि आत्मनिर्भरता अनिवार्य रहेको भन्दै चीनको उदाहरण उल्लेख गरे। ‘अरूले सहयोग नगरेको भए चीनले कसरी विकास गर्यो? डेढ अर्ब जनसंख्यालाई त कसैले खुवाउन सक्दैन। तर चीनले आफ्नै पौरखले विकास गर्यो,’ उनले भने।
उनले नेपालको विकास पनि बाह्य सहयोगको भरमा मात्र सम्भव नभएको स्पष्ट पार्दै आफ्नै स्रोत, नीति र मेहनतको भरमा अघि बढ्नुपर्ने धारणा राखे। ‘विकास आफ्नै प्रयासबाट सम्भव छ,’ प्रधानमन्त्री ओलीको भनाइ थियो।
असार २३, २०८२ सोमबार १७:१२:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।