टेक्सासको भीषण बाढीमा ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४० भन्दा बढी बेपत्ता

टेक्सासको भीषण बाढीमा ज्यान गुमाउनेको संख्या ८२ पुग्यो, ४० भन्दा बढी बेपत्ता

एजेन्सी : अमेरिकी राज्य टेक्सास भीषण बाढीको चपेटामा परेको छ। शुक्रबार बिहान आएको बाढीले दक्षिण–मध्य टेक्सासका विभिन्न क्षेत्र डुबानमा परेका छन्, जसमा कम्तीमा ८२ जनाको ज्यान गएको र ४० भन्दा बढी मानिस बेपत्ता भएको पुष्टि भएको छ।

सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको बताइएको छ, जहाँ मात्रै ६८ जनाले ज्यान गुमाएका छन्। तीमध्ये २१ जना बालबालिका छन्।

स्थानीय बासिन्दा र उद्धारकर्मीहरू अहिले पनि बाढीपछिको विनाशसँग जुधिरहेका छन्। प्रभावित क्षेत्रहरूमा घरहरूमा हिलो भरिएको छ, सडकहरू उखालिएका छन् र रूखहरू जरैसहित ढलेका छन्।

बाढीले सडक चिन्हहरू पूर्ण रूपमा नष्ट गरेको छ भने सयौं सवारीसाधनहरू बगाएर सडकको छेउमा ल्याएको छ। धेरै गाडीका झ्याल फुटेका छन् र गाडीका फ्रेमहरू बङ्गिएका छन्।

प्रभावित काउन्टीहरूमा उद्धार तथा राहत कार्य जारी छ। स्थानीय र संघीय निकायले सम्भावित जीवित व्यक्तिको खोजी र प्रभावितलाई सुरक्षित स्थानमा सार्ने काम तीव्र पारेका छन्।

असार २३, २०८२ सोमबार १६:५६:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।