काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका ३ सय ९५ बस्ती बाढी पहिरोको उच्च जोखिममा

काभ्रेपलाञ्चोकका १३ स्थानीय तहका ३ सय ९५ बस्ती बाढी पहिरोको उच्च जोखिममा
Filephoto

काभ्रेपलाञ्चोक : मनसुन सुरु भएसँगै काभ्रेपलाञ्चोक जिल्लाका १३ वटै स्थानीय तहमा बाढी र पहिरोको उच्च जोखिम बढेको छ। जिल्लास्तरीय विपद् व्यवस्थापन समितिमा प्राप्त विवरणअनुसार हाल ३९५ बस्तीमा ६ हजार ३७५ घरपरिवार उच्च जोखिममा परेका छन्।

समितिको अनुमानमा ती बस्तीमा बसोबास गर्ने २३ हजार ४५ नागरिक यस वर्षको मनसुनजन्य विपद्बाट प्रभावित हुन सक्नेछ। समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेश ढकालका अनुसार बाढी र पहिरोको जोखिम विशेषगरी रोशी, सुनकोशी, इन्द्रावती, पुण्यमाता, झिकुखोला र दाप्चाखोला आसपासका क्षेत्रमा बढी रहेको छ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी जोखिममा रहेको गाउँपालिका रोशी हो, जहाँ ५६ वटा बस्तीमा एक हजार ४३८ घरपरिवारका तीन हजार ६६२ जना प्रभावित हुने अनुमान छ। त्यसपछि नमोबुद्ध नगरपालिकामा एक हजार १४२ घरपरिवारका ४ हजार ४११ नागरिक, पाँचखाल नगरपालिकामा ८६९ घरका ५ हजार ६८ नागरिक, र मण्डदेउपुर नगरमा २४ बस्तीका २४३ घरपरिवारका ९४७ जनासम्म प्रभावित हुने देखिएको छ।

सहरी क्षेत्रमा पर्ने बनेपामा २७ स्थान जोखिममा छन्, जहाँ ८११ घरपरिवारका २ हजार २६१ नागरिक प्रभावित हुने आकलन गरिएको छ। त्यस्तै, पनौती नगरपालिकामा १६ बस्तीमा २८६ घरका १ हजार ३९५ नागरिक, र सदरमुकाम धुलिखेलका २५ बस्तीमा ५२१ घरका १ हजार ३५१ जनालाई असर पर्ने अनुमान छ।

अन्य स्थानीय तहमध्ये तेमालमा ४६ बस्तीका ३०८ घर, महाभारतमा १३ बस्तीका १३६ घर, खानीखोलामा ९ बस्तीका ४७ घर, चौँरीदेउरालीमा ३६ बस्तीका २७६ घर, र भुम्लुमा ३९ बस्तीका २ सय २१ घर उच्च जोखिममा छन्।

गत वर्ष असोज ११ र १२ गतेको अविरल वर्षाले जिल्लामा ठूलो क्षति पुगेको थियो। बाढीपहिरोमा ७८ जनाको मृत्यु, ६ जना बेपत्ता र ७५ जना घाइते भएका थिए। सबैभन्दा बढी मानवीय क्षति पनौती नगरपालिकामा भएको थियो, जहाँ १७ जनाको ज्यान गएको थियो।

काभ्रेपलाञ्चोकमा भएको कुल क्षतिले देशभर मृत्यु भएकामध्ये ३१.५६ प्रतिशत हिस्सा ओगटेको थियो। मृतकमध्ये ३३ महिला, २९ पुरुष, ९ बालक र ७ बालिका थिए, जसमा २१ जना विद्यार्थी रहेका थिए।

मनसुनजन्य विपद् न्यूनीकरणका लागि समिति, स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग समन्वयमा जुटेको बताइएको छ। जिल्लाका १३५ वटै वडामा हेलिप्याड निर्माण गरिएको छ भने विभिन्न विद्यालय, क्लब र सामुदायिक भवनलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्न सकिने गरी तयारी गरिएको छ।

प्रमुख जिल्ला अधिकारी ढकालले जोखिममा रहेका बस्तीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै उद्धार र राहतका लागि आवश्यक पूर्वतयारी गरिएको बताएका छन्।

असार २३, २०८२ सोमबार १६:३३:०४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।