२२ अंकले ओरालो लाग्यो नेप्से परिसूचक, आठ अर्बभन्दा बढीको कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्कको गिरावट आएको छ। कारोबारको अन्त्यसम्म आइपुग्दा नेप्से २२.३५ अङ्कले घटेर २,६८४.०१ बिन्दुमा झरेको हो।
आज दिनभर भएको कारोबारमा ३११ कम्पनीका एक करोड ९४ लाख १५ हजार ६८८ कित्ता शेयर ७१ हजार ३१३ पटक किनबेच भएका छन्। कुल कारोबार रकम आठ अर्ब ३७ करोड ७३ लाख २७ हजार रुपैयाँ नाघेको नेप्सेले जनाएको छ।
सूचक समूहगत रूपमा हेर्दा होटल तथा पर्यटन र म्युचुअल फण्डबाहेक बाँकी सबै समूहको उपसूचक घटेको छ। होटल तथा पर्यटन समूह ०.६१ प्रतिशतले र म्युचुअल फण्ड समूह ०.०७ प्रतिशतले बढेका छन्। बाँकी समूहमा बैंकिङ ०.७९, विकास बैंक ०.८१, वित्त ३.७६, जलविद्युत् १.०२ र लगानी समूह ०.७६ प्रतिशतले घटेका छन्।
त्यसैगरी, जीवन बीमा ०.९३, उत्पादन तथा प्रशोधन १.२४, लघुवित्त ०.७०, निर्जीवन बीमा ०.६६, व्यापार १.२५ र अन्य समूह ०.१५ प्रतिशतले घटेका छन्।
आजको बजारमा सर्वाधिक मूल्य वृद्धिदर माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको रहेको छ। कम्पनीको शेयर मूल्य ६.५६ प्रतिशतले बढेको छ। उता सबैभन्दा धेरै मूल्य घट्ने कम्पनीमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड परेको छ, जसको शेयरमा नकारात्मक सर्किट लागेको हो।
कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेड अगाडि रहेको छ। कम्पनीको रू ८० करोड ७० लाख ५६ हजार ४५१ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका कित्ताका हिसाबले भने प्रभु सेलेक्ट फण्ड अग्रस्थानमा रहेको छ, जसका २१ लाख १९ हजार ८१७ कित्ता शेयर किनबेच भएका छन्।
असार २३, २०८२ सोमबार १६:१६:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।