विश्वविद्यालयमा भातृ संगठनको तालाबन्दी गराएर गगनको ज्ञानमा आधारित अर्थतन्त्रको ‘गफ’

विश्वविद्यालयमा भातृ संगठनको तालाबन्दी गराएर गगनको ज्ञानमा आधारित अर्थतन्त्रको ‘गफ’

काठमाडौं : रोल्पाको जलजला बहुमुखी क्याम्पसमा केही दिन अघि भएको कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विद्यार्थीलाई सम्बोधन गर्दै अबको युग ज्ञानको अर्थतन्त्र भएको बताए। उनले शिक्षित र आलोचनात्मक भएको जनशक्तिमा जोड दिए।

‘... अबको युग भनेकै ‘नलेज इकोनोमी’ ज्ञान अर्थतन्त्रको हो। को सँग कति ज्ञान छ, कसले कति सोच्न सक्छ, काम गर्ने क्षमता राख्छ भन्नेमा भर पर्छ। मलाई लाग्छ अबको २०/२५ वर्ष ज्ञानमा आधारित अर्थतन्त्रले लिड गर्छ,’ थापाले भने, ‘हाम्रो देशको स्रोत भनेको जनशक्ति हो। त्यसैले शिक्षित र आलोचनात्मक सोच्न सक्ने जनशक्तिमा हामीले जोड दिनुपर्छ।’ 

कांग्रेस महामन्त्री थापाले भने जस्तै पछिल्लो समय  विकसित बन्दै गरेका देश ज्ञानमै लगानी गरिरहेका छन्। छिमेकी देश चीनले त ज्ञान तथा अनुसन्धानमा ठूलो लगानी गरेको छ।  शिक्षा र प्रविधिमा अत्यधिक  लगानी गरेको चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा तथा अध्ययन अनुसन्धानको बजेट कटौती गरेसँगै प्राध्यापक, इन्जिनियर, अनुसन्धाता, वैज्ञानिकहरूलाई आकर्षक सुविधामा आमन्त्रण गरिरहेको छ। 

तर नेपालबाट  भने शिक्षाकै लागि बर्सेनि एक लाख भन्दा धेरैले अध्ययन अनुमति पत्र अर्थात् एनओसी लिने गरेका छन्। शिक्षा मन्त्रालयका अनुसार १० वर्षमा ६ लाख ३९ हजार १ सय ४८ जनाले एनओसी लिए। यसरी एनओसी लिएर पढ्न गएका धेरै जसो फर्किँदैनन्। कति फर्कन्छन् ? सरकारी तथ्याङ्क छैन। 

विश्वविद्यालयका कक्षा रित्तिँदै जानु, समयानुकूल पाठ्यक्रम परिवर्तन नहुनु, विश्वविद्यालयमा विद्यार्थी संगठनको निरन्तर तालाबन्दी, अध्ययन अनुसन्धानमा कुल बजेटको एक प्रतिशत पनि मुस्किलले विनियोजन हुनु, समयमै परीक्षा नहुनु जस्ता झन्झटले नेपालमा रहेका विश्वविद्यालय नेपालीको विश्वास जित्न असफल भइरहेको छ।

२०६४ साल यता थापा निरन्तर संसद्मा छन्। २०७९ सम्म राजनीतिक, सामाजिक, समानता र कानुनका कुरामा केन्द्रित हुने थापा ५ वर्ष यता आर्थिक विकासका एजेन्डाबारे बोल्ने गरेका छन्। 

कांग्रेसको १४ औँ महाधिवेशनमा नै  ‘समुन्नत नेपाल सम्मानित नेपाली’ अवधारणा सार्वजनिक गरेका थापाले सामाजिक न्याय सहितको समृद्धिको बहस अघि सारेका थिए। आफूलाई भावी प्रधानमन्त्री दाबी गरिरहेका थापाले भन्दै आएको ‘नलेज इकोनोमी’ के हो,  यसले कसरी काम गर्छ,  विश्वव्यापी रूपमा ज्ञानको स्तरमा नेपाल कुन स्थानमा छ, के बर्सेनि लाखौँ युवा पलायन भइरहँदा नेपालले ज्ञानमा आधारित अर्थतन्त्रको मोडल अनुसार काम गर्न सक्ला ? यो रिपोर्ट यी नै प्रश्नमा केन्द्रित छ।

सुरुवातमा ज्ञानमा आधारित अर्थतन्त्र के हो भन्ने बुझौँ। ज्ञान अर्थतन्त्र नयाँ बहस होइन। सन् १७७६ मा ‘वेल्थ अफ नेसन’ किताब लेखेका अर्थशास्त्री एडम स्मिथदेखि हालसम्म बहस भइरहेका छन् यो बारे। स्मिथको पालादेखि नै भविष्यको अर्थतन्त्र स्वरूप ज्ञानमा आधारित हुने विश्वास गरिँदै आएको छ।

नवप्रवर्तन र आर्थिक वृद्धिमा ज्ञानको भूमिका हुन्छ भन्ने कुरा नयाँ पनि होइन।  ज्ञान अर्थतन्त्रको विस्तृत बहस भने अमेरिकी अर्थशास्त्री थिओडोर विलन शुल्ट्जले सन् १९६१ ‘इन्भेस्टमेन्ट अफ ह्य्युमन क्यापिटल’  जर्नल लेख मार्फत बहस सिर्जना गरेका थिए। त्यस्तै  सन् १९६४ मा अमेरिकन अर्थशास्त्री ग्यारी बेकरले ‘ह्युमन क्यापिटल अ थेउरिटिकल इम्पेरिकल एनलाइसिस विथ स्पेसल रिफरेन्स टु एजुकेसन’ भन्ने  जर्नल लेख मार्फत यसमा बहस सिर्जना गरेका थिए। 

‘एन्डोजेनस ग्रोथ मोडल’ मार्फत नयाँ तरङ्गको अनुसन्धान अगाडि बढ्यो। यसले मानव पुँजी र ज्ञानलाई आर्थिक वृद्धिका मेरुदण्डका रूपमा स्थापित गर्यो।  अहिले सूचना र प्रविधिमा भएको परिवर्तनका कारण ज्ञान उत्पादनले सर्वोच्च शिखर चुम्न थालेको छ। 

लन्डन स्कुल अफ इकोनोमिक्समा काम गरिसकेका अर्थशास्त्रीद्वय राल्फ हिप्पे र रोजर फुकेटको सन् २०१८ प्रकाशित भएको ‘द नलेज इकोनोमी इन हिस्टोरिकल प्रस्पेक्टिभ’ जर्नल लेख अनुसार मानव ज्ञानको विस्तार तीव्र रूपमा हुँदै आएको छ।  सूचना र प्रविधिको विस्तार छापाखानाको अविस्कारदेखि अहिलेको इन्टरनेट दुनियाँसम्म निकै द्रुत गतिमा भएको छ। 

यी प्रविधिले ज्ञान उत्पादन मात्रै होइन वितरणलाई समेत तीव्र बनाएको छ।  अमेरिकन एसोसिएसन अफ स्टेट कलेजेज् एन्ड युनिभर्सिटीजका पूर्वअध्यक्ष जेम्स बी. एपलबेरीको अनुसार, “मानव जातिको समग्र ज्ञान १७५० देखि १९०० सम्म दोब्बर भयो। त्यसपछि दोब्बर हुन धेरै समय लागेन। सन् १९०० देखि १९५० सम्म ज्ञान दोब्बर  भयो।  त्यसपछि सन् १९६० देखि सन् १९६५ भित्रै ज्ञान उत्पादन दोब्बर भयो। त्यसयता हरेक पाँच-पाँच वर्षमा ज्ञान दोब्बर हुँदै आएको छ। “एपलबेरीको भनाइलाई उद्धृत गर्दै सन् १९९८ मा ब्रेभिकले उल्लेख गरेअनुसार, सन् २०२० सम्म आइपुग्दा मानव ज्ञान प्रत्येक ७३ दिनमा दोब्बर हुने अनुमान गरेका थिए।

इन्टरनेट र डिजिटल अर्थतन्त्रले समग्र आर्थिक प्रणालीमा परिवर्तन गरिरहेका छ। व्यापारका नयाँ सम्भावनाहरू मात्रै होइन, सिकाइ र शिक्षा लिने तरिका नै फेरिदिन सक्ने सम्भावना देखाएको छ। परम्परागत स्कुल शिक्षालाई अहिले शिक्षण विकल्पहरूले चुनौती दिइरहेका छन्।  अनलाइन सामग्री र पाठ्यक्रमहरूको प्रभावकारी प्रयोगले चुनौती दिएको देखिन्छ। 

यस लेख अनुसार ज्ञान अर्थतन्त्रमा मूल त ४ वटा खम्बाहरू रहेका हुन्छन्। पहिलो, आर्थिक र संस्थागत व्यवस्था, शिक्षा र सीप, सूचना तथा सञ्चार पूर्वाधार, र नवप्रवर्तन प्रणाली  अर्थात् आविष्कार। 

पहिलो आर्थिक तथा संस्थागत व्यवस्था सबल हुनुपर्छ। उक्त अनुसन्धान अनुसार विधिको शासन, बलिया नियामक निकाय, प्रस्ट व्यापारिक नीतिहरू, र बजारको खुलापन जस्ता सूचकहरु यस खम्बाका आधार हुन्। यस्ता संरचनाले लगानीलाई आकर्षण गर्ने, नवप्रवर्तनको जोखिम न्यूनीकरण गर्ने र ज्ञान आधारित अर्थतन्त्रमा सघाउ पुराउँछ। सरकार सक्षम र विश्वासिलो भयो भने मात्रै ज्ञानको उत्पादन र वितरण तीव्र रूपमा हुन थाल्छ।

दोस्रो हो शिक्षा र सीप। शिक्षा र सीपको बलमा नै जापानले तीव्र आर्थिक वृद्धि गरेको हो। मानव पुँजी अर्थात् ज्ञान, सीप, सूचना, र स्वास्थ्य मुख्य कुरा हो। यसमा सीप हस्तान्तरण, विद्यालय शिक्षाको युग त हुँदै हो समावेशी, प्रविधिमैत्री अहिलेको शिक्षाको प्रमुख आधार हो। 

तेस्रोमा रहेको छ,सूचना तथा सञ्चार प्रविधि। अर्थात् ज्ञानको गतिशीलता बढाउने काम। छापाखानाको आविष्कारदेखि लिएर इन्टरनेटसम्मको परिवर्तनलाई 'ज्ञान उत्पादनका चरणहरू'  हुन्। सूचना प्रवाहको गति, पहुँच र अन्तरक्रियात्मकता-यी सबै इन्टरनेट र डिजिटल मिडियाको विस्तारपछि अत्यधिक बढेको छ। डिजिटल युग ज्ञान सङ्ग्रहको विषय मात्रै होइन, अनन्त सम्भावनाको स्रोत समेत हो।

चौथो हो नवप्रवर्तन प्रणाली अर्थात् नयाँ ज्ञानलाई व्यवहारमा उतार्ने संयन्त्र। ज्ञान उत्पादन गर्ने मात्रै होइन त्यो अनुसन्धानलाई उत्पादन र सेवा प्रणालीमा रूपान्तरण गर्नु हो। लेख अनुसार, पेटेन्ट राइट , प्राविधिक लेखहरू, र टेक्नोलोजी स्थानान्तरण अनुसार  नवप्रवर्तन प्रणालीको गतिशीलता नापिन्छ। विश्वविद्यालय, अनुसन्धान संस्था, निजी क्षेत्र र सरकारले सहकार्य नगर्दासम्म ज्ञान बजारसम्म पुग्दैन। ज्ञान अर्थतन्त्रको सफलता, त्यसैले, प्रयोगशालाभित्रको खोजलाई बजारसम्म पुर्याउन सक्ने क्षमता र नीति व्यवस्थापनमा निर्भर रहन्छ।

ज्ञान अर्थतन्त्र नेपाल कुन स्थानमा !

युएनडिपीले ग्लोबल नलेज इन्डेक्स प्रतिवेदन बर्सेनि प्रकाशित गर्छ। सन् २०२४ सम्ममा नेपालको ज्ञान उत्पादनमा दयनीय  स्थिति देखिन्छ। नेपालको मानव विकास सूचकाङ्क ०.६० हो। यो भनेको नेपालले मध्यम आर्थिक विकास गरिरहेको छ।

ग्लोबल नलेज इन्डेक्सका अनुसार नेपाल १४१ देश मध्ये ११२ औँ स्थानमा छ। मानव विकास  (शिक्षा, स्वास्थ्य, आयु, लैङ्गिक समानता)  मा  पनि नेपाल मध्य स्तरको रहेको देखिएको छ। न्यून मानव विकास सूचकाङ्क भएको २४ देशमा नेपालको स्थान १६ औँ स्थानमा छ। 

उक्त प्रतिवेदन अनुसार  नेपाली अर्थतन्त्रका सबल पक्षहरूमा  प्रारम्भिक बाल शिक्षामा भर्ना दर, कम कार्बन उत्सर्जन,उच्च शिक्षामा लैङ्गिक समानताको बढ्दो दर, शिक्षित जनशक्ति बढ्दो र सांस्कृतिक वस्तुहरूको निर्यात आदि रहेका छन्।

त्यस्तै सुधार गर्नुपर्ने पक्षमा  उच्च शिक्षामा शिक्षक विद्यार्थीको अनुपात, केन्द्रीकरण बजार, ट्राफिक व्यवस्थापन,इन्टरनेट मैत्री बजार, नयाँ उत्पादन वा सेवा बजारमा ल्याउने नयाँ व्यवसायीहरूको प्रतिशत। 

ग्लोबल नलेज इन्डेक्स ( विश्व ज्ञान सूचकांक) प्रतिवेदनले मुख्य त ७ सुचालक राखेर कुन देशले ज्ञान उत्पादनमा कति काम गरेका छन् भन्ने कुरा मापन गर्छ।

प्रतिवेदन अनुसार पहिलो सूचकांक विश्वविद्यालय जानु अघिको शिक्षाको स्तर मापन गर्छ। जसमा विद्यार्थीको भर्ना दर,विद्यालय शिक्षाको पूरा अवधि बसे नबसेको,नतिजा,खर्च स्रोत,सिकाइ,समावेशिता आदि पर्छ।  १४४ देश मध्ये नेपाल ९१ औँ स्थानमा छ भने यसको मूल्याङ्कन गर्दा ५८.३ मात्रै देखिन्छ। 

दोस्रो सुचकांक हो ,प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम। यस अन्तर्गत निरन्तर तालिम तथा सीप सिकाइ, गुणस्तर, भौतिक संरचना,बजारको उतारचढाव आदि समेत राखेर निकालिन्छ। यसमा नेपालको स्थिति दयनीय देखिन्छ। १२७ औँ स्थानमा परेको नेपालको त्यसको मूल्याङ्कन गर्दा सय मा ३७ अंक मात्रै ल्याएको छ। 

तेस्रो सुचकांक हो,  उच्च शिक्षा। उच्च शिक्षामा नेपालको स्थान ११२ औँ स्थानमा छ भने मूल्याङ्कन गर्दा ३५.६ अंक मात्रै ल्याएको छ। यस सुचालक अन्तर्गत शिक्षामा गरिने खर्च, विद्यार्थीको उपस्थिति दर,स्रोत, सिक्ने वातावरण, सिकाइमा विविधता, स्वतन्त्र एकेडेमिक वातावरण, समानता र समावेशिता रहेका छन्। 

चौथो सुचकांक अनुसन्धान,विकास र अविकार पर्छन्। यसमा सरकारको अनुसन्धानमा लगानी, व्यवसायीहरूको लगानी,सामाजिक क्षेत्रबाट लगानी, अन्वेषणको गुणस्तर,नतिजा आदि रहन्छन् । यसमा नेपालले जम्मा २०.२ अंक पाएको छ भने १२५ औँ स्थानमा नेपाल परेको छ। 

पाँचौँमा रहेको छ, सूचना, सञ्चार र प्रविधि। यसमा नेपाल १०४ औँ रैंकमा परेको छ भने मूल्याङ्कन गर्दा ३८.२ अंक पाएको छ। यस अन्तर्गत भौतिक संरचना,गुणस्तर,पहुँच,रोजगार, अर्थतन्त्रमा कति योगदान गरेको छ भन्नेले जनाउँछ। 

त्यस्तै छैटौँ सुचकांक हो अर्थतन्त्र। यसमा प्रतिस्पर्धात्मक बजार,भौतिक विकासमा लगानी,आर्थिक उदारवाद,वित्तीय सहजता,कर आदि पर्छन्। यसमा नेपालले ४२.१ अंक प्राप्त गरेको छ भने १२० औँ स्थानमा छ।

अर्को अन्तिम, सुचकांक हो काम गर्ने वातावरण। यस अन्तर्गत विधिको शासन,राजनीतिक वातावरण, शान्ति र स्थिरता,अभिव्यक्ति स्वतन्त्रता,प्रेस स्वतन्त्रता,सुशासन, लैङ्गिक समानता, जीवनस्तर,स्वास्थ्य र वातावरण लगायतका कुरा पर्छन्। यसमा नेपाल ९९ औँ स्थानमा छ भने ४८.१ मा पर्छ। 

यी सबै सुचकांक हेर्दा नेपाल मध्यम स्तरमा छ। थापाले भने जस्तो विश्व ज्ञान अर्थतन्त्रले नेतृत्व लिन सक्ने त देखिन्छ तर नेपालका हकमा आधार तय गरेको देखिँदैन।

सबैभन्दा धेरै विद्यार्थी पढ्ने त्रिभुवन विश्वविद्यालयमा ३० प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण दर छ भने पछिल्ला वर्षमा  त्रिभुवन विश्वविद्यालयमा कांग्रेसको भातृ संगठन  नेपाल विद्यार्थी संघको तालाबन्दी छ। उपकुलपति धर्मकान्त बास्कोटा हुँदा २८ महिनामा १ सय ९५ दिन तालाबन्दी गरेको  नेविसंघले अहिले तीन सातादेखि तालाबन्दी गरिरहेको छ।

ज्ञान निर्माण गर्ने थलोमा कांग्रेसकै भातृ संगठनको निरन्तर तालाबन्दी छ। थापा आफैँ महामन्त्री भए पनि नलेज दिने ठाउँको ताला खुलाउनसम्म सकेका छैनन्। त्यसैले अहिले उनको ‘नलेज इकोनोमी’ ले सार्थकता पाउन सबैभन्दा पहिलो बाधक उनकै संगठनको व्यवहार हो।

असार २३, २०८२ सोमबार १५:५८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।