‘संसदीय समितिको नेतृत्व सोही दलले नगर्ने सहमति कहाँ हरायो ?’

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले भिजिट भिषाको नाममा भइरहेको मानव तस्करीको विषय संसद्मा बहस भइरहेका बेला संसदीय समितिको नेतृत्व विवादमा तानिएको दलकै जिम्मामा दिनु गलत भएको बताएका छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले उक्त विषयमा छानबिन गर्न गठित संसदीय समितिमा त्यो दलको नै अध्यक्ष रहने कुरा प्रारम्भिक सहमतिसँग मेल नखाने बताए।
‘जुन दलका नेतामाथि विवाद छ, छानबिन पनि त्यही विषयमा छ, तर नेतृत्व पनि त्यसैले लिन्छ भने त्यो सहमति कहाँ हरायो ?’, उनले प्रश्न गरे।
उनले भिजिट भिषामार्फत भइरहेको मानव तस्करी जस्तो गम्भीर मुद्दाको बहसकै बीच ‘कुलिङ अफ पिरियड’ भन्ने नयाँ बहाना देखाएर समितिको गठन गरिएको दाबी गरे।
‘संसदीय अभ्यासमा एउटा कलंकित कथा बुनियो - कुलिङ अफ पिरियड,’ उनले भने, ‘सदनमा समितिका सभापतिले गरेको प्रस्ताव र पारित भएको विषयबीच आकाश-जमिन फरक छ।’
‘सरकार ढल्दैछ भन्ने चर्चा भइरहँदा मैले केही महिना अगाडि नै भनेको थिएँ, यो सरकार नढलोस्- किनकि कति गिर्छ भन्ने त अझै बाँकी छ। तर हाम्रो आन्दोलन भने निरन्तर रहन्छ,’ उनले भने।
असार २३, २०८२ सोमबार १४:४९:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।