मुम्बई विमानस्थलमा रोइरहेकी देखिइन् नोरा, नजिक आएका फ्यानलाई अंगरक्षकले धकेले

मुम्बई : ‘दिलबर गर्ल’को नामले चिनिने बलिउड अभिनेत्री नोरा फतेही आइतबार साँझ मुम्बई विमानस्थल आइपुग्दा रोइरहेको देखिएकी छन्। विमानस्थल प्रवेश गर्ने क्रममा आँसु पुछ्दै गरेकी नोरा नजिक आएका एक फ्यानलाई उनको अंगरक्षकले धकेलेका थिए।
नोरा विमानस्थल आइपुग्नुभन्दा केही समयअघि उनले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै आफ्नो नजिकको व्यक्तिको मृत्युको संकेत गरेकी थिइन्। आइतबार उनले आफ्नो इन्स्टाग्राम स्टोरीमा लेखेकी थिइन्, ‘इन्ना लिल्लाही वा इन्ना इलयही राजीउँ’ (हामी अल्लाहका हौं र उनैतिर फर्किनेछौं)।
यो वाक्यांश इस्लाममा कसैको मृत्युमा पढिन्छ। यद्यपि, नोराले आफ्नो पोस्टमा मृतकको बारेमा कुनै पनि जानकारी दिएकी थिइनन्।
सामाजिक सञ्जालमा उक्त पोस्ट गरे लगत्तै नोरा मुम्बई विमानस्थल आइपुगेकी थिइन्। कालो पहिरनमा देखिएकी उनी निकै रोइरहेको अवस्थामा थिइन्। उनी बारम्बार आँसु पुछिरहेकी थिइन् भने उनको टोलीका सदस्यहरू पनि चिन्तित देखिएका थिए।
कारबाट ओर्लिएर नोरा विमानस्थलको प्रवेशद्वारतर्फ बढ्दै गर्दा एक फ्यान नजिक आएर तस्बिर खिच्न प्रयास गरे। यो देखेपछि नोराका अंगरक्षक तुरुन्तै अगाडि बढे र ती व्यक्तिलाई उनको बाटोबाट धकेले। त्यसपछि उनले पछाडि फर्केर ठूलो स्वरमा चिच्याए।
नोरा केही समयअघि आफ्नो प्रस्तुतिका लागि नेपाल आएकी थिइन्।
असार २३, २०८२ सोमबार १४:०५:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।