उज्वेकिस्ताबाट फर्केपछि साम्बाको टिप्पणी- एन्फाको आन्तरिक फुटबल संरचना निकै कमजोर भयो

उज्वेकिस्ताबाट फर्केपछि साम्बाको टिप्पणी- एन्फाको आन्तरिक फुटबल संरचना निकै कमजोर भयो

काठमाडौं : उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन्स कप छनोट खेलेर फर्किएकी नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारीले अखिल नेपाल फुटबल संघ (एन्फा) को आन्तरिक फुटबल संरचना निकै कमजोर भएको बताएकी छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एन्फाको संरचनामा सुधार आवश्यक रहेको औंल्याएकी हुन्। उनले छनोट प्रतियोगिताको अनुभव पनि सुनाइन्।

कप्तान भण्डारीले महिला राष्ट्रिय टोली तीन वटा विभागीय टोलीकै भरमा टिकेको टिप्पणी गरिन्।

‘तीन विभागीय टिम हुन्थेनन् भने नेपाली महिला राष्ट्रिय टोलीको अस्तित्व रहँदैनथ्यो,’ उनले भनिन्, ‘तीन विभाग बाहेक एन्फाको आन्तरिक संरचना निकै कमजोर छ।’

महिला फुटबलको विकासका लागि आगामी दिनमा छ देखि आठ महिनाको लिग सञ्चालन गर्नुपर्ने र फ्रेन्चाइज मोडलमा जान सके दुई वर्षभित्रै उल्लेख्य सुधार हुने उनको सुझाव छ।

उज्वेकिस्तानको वातावरणमा सुरुवाती चरणमा घुलमिल हुन केही समय लागे पनि पहिलो खेलबाटै टोली सहज भइसकेको उनले बताइन्। प्रशिक्षकले दिएका रणनीतिलाई मैदानमा प्रयोग गर्न सफल भएको उनको भनाइ थियो।

वरीयतामा नेपालभन्दा निकै माथि रहेको उज्वेकिस्तानविरुद्ध पछि परेको अवस्थालाई जसरी टोलीले ‘कमब्याक’ गर्यो, त्यसबाट नेपाली समर्थकहरु खुसी भएको उनको विश्वास छ। तर, पेनाल्टीमा चुक्न पुग्नुलाई उनले दुर्भाग्य भनिन्।

‘नेपाली महिला टिमका लागि यो जत्तिको ठूलो प्रतियोगिता कुनै पनि थिएन। एसियन कप खेल्ने यो ठूलो अवसर थियो। ५०-५० चान्समा हामी चुक्यौँ,’ उनले भनिन्, ‘त्यसले खेलाडी र कोचिङ स्टाफलाई निराशा त भइहाल्छ।’

सुरुमै गोल खाँदा टोली सम्हालिन नसकेर पुनः अर्को गोल खाएको स्वीकार्दै उनले प्रशिक्षकले बाहिरबाट दिएको सकरात्मक सन्देशले १० मिनेटभित्रै खेलाडीको ऊर्जा बढेको सुनाइन्।

३-० ले पछि परेको अवस्थामा गुमाउने केही नभएकाले पनि खुलेर खेलेको उनको भनाइ थियो। वरीयतामा माथिको टोलीसँग खेल्दा धेरै कुरा सिक्ने मौका मिलेको उनले उल्लेख गरिन्।

विदेशी प्रशिक्षकको अनुभवबारे कुरा गर्दै भण्डारीले तीन हप्ताको छोटो प्रशिक्षण अवधिमा पनि राम्रो नतिजा दिन सकिएको दाबी गरिन्। प्रशिक्षकले सुरुदेखि नै रक्षात्मक नभई आक्रामक शैलीमा खेल्नुपर्नेमा जोड दिएको र प्रशिक्षण, आराम तथा रणनीति लगायतका कुराहरुको तालमेल मिलाएको उनको भनाइ थियो। 

कप्तानको विषयमा भविष्यमा विवाद नआओस् भन्ने चाहना व्यक्त गर्दै उनले टोलीका २३ जना खेलाडी नै आफैँमा कप्तान भएको बताइन्।

‘मैले आर्म ब्यान्ड लगाउँदैमा सबै कुरा परिवर्तन गर्न सक्छु भन्ने होइन,’ उनले भनिन्, ‘आफ्नो भूमिकामा रहेर सबैले देशप्रति दृढ भएर खेल्नुपर्छ।’

उज्वेकिस्तान जानुअघि रेनुका नगरकोटीलाई कप्तान भनेर घोषणा भए पनि त्यहाँ पुगेपछि साम्बाले आर्मब्यान्ड लगाएर टोलीको कप्तानी गरेकी थिइन्।

११ वर्ष राष्ट्रिय टिमबाट खेलिरहँदा कप्तानको जिम्मेवारी पाउँदा खुसी लागेको र टिमप्रतिको भूमिकाले गर्दा केही दबाब पनि महसुस भएको उनले उल्लेख गरिन्।

असार २३, २०८२ सोमबार १३:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।