देशका आठ शहरबाट एकैसाथ ‘जनै हराएको मान्छे’को पोस्टर रिलिज

देशका आठ शहरबाट एकैसाथ ‘जनै हराएको मान्छे’को पोस्टर रिलिज

काठमाडौं : चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’को पोस्टर सार्वजनिक भएको छ। निर्माण टिमले काठमाडौंलगायत देशका आठ प्रमुख शहरबाट एकैसाथ पोस्टर अनावरण गरेको हो।

देशभर प्रचारप्रसार गर्ने र दर्शकमा उत्सुकता जगाउने उद्देश्यले झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जबाट पनि पोस्टर सार्वजनिक गरिएको निर्माता विमल न्यौपानेले बताए।

चलचित्रका दुईवटा पोस्टर सार्वजनिक भएका छन्। एउटा पोस्टरमा विजय बरालसँगै केकी अधिकारी र मिरुना मगर देखिएका छन्। उनीहरू धागोले बाँधिएको अवस्थामा छन्, जसले सम्बन्ध र जातीयताको द्वन्द्वलाई संकेत गरेको छ।

अर्को पोस्टरमा धागोले बाँधिएकी केकी अधिकारी छन्, जसले उनको दोधार अवस्था र विजयको निर्णयमा साथ दिने सम्भावनातर्फ इशारा गरेको छ। पोस्टरमा ‘जति पीडा भए पनि कहिले ऐया नभन्ने मेरी दिदी’ लेखिएको छ।

हिमाल न्यौपानेले निर्देशन गरेको यस चलचित्रमा विजय बराल, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, भोलाराज सापकोटा लगायतका कलाकारहरूको अभिनय छ।

मनिष राउत एसोसियट निर्देशक तथा कमल न्यौपाने र विमल न्यौपाने निर्माता रहेको चलचित्र भदौ ६ गते प्रदर्शन हुनेछ। चलचित्रको वितरण काफिया फिल्मसले गर्नेछ।

असार २३, २०८२ सोमबार १२:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।