बिहारसँग गुहार माग्दै जसपा नेता यादव, भने- ‘मधेश नेपालबाट अलग भएरै छाड्छ’

बिहारसँग गुहार माग्दै जसपा नेता यादव, भने- ‘मधेश नेपालबाट अलग भएरै छाड्छ’

काठमाडौं : नेपाल प्रहरीले खोजी गरिरहेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोक यादवले एक भिडिओ सन्देश जारी गरेका छन्।

हिन्दी भाषामा सार्वजनिक गरिएको सो भिडिओमा उनले नेपालबाट मधेश अलग हुनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिँदै आफूमाथि नेपालमा दमन भएको भनेर भारतको बिहार राज्य सरकारसँग सहयोगको याचना गरेका छन्।

यादवले नेपालमा मधेशीमाथि दमन र शोषण भइरहेको आरोप लगाउँदै ‘नस्लवादी, खसवादीहरूले’ दोस्रो दर्जाको नागरिक बनाएको दाबी गरे।

उनले स्पष्ट शब्दमा भनेका छन्, ‘यो देशबाट मधेश अलग हुनुपर्छ। मधेश आज नभए भोलि अलग हुन्छ।’

यस्तै उनले नेपालमा आफूमाथि ‘शोषण दमन’ भएको भन्दै भारतको बिहार सरकारलाई गुहारेका छन्। उनले भनेका छन्, ‘म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो। हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ। यसमा भारतको सपोर्ट मिल्नुपर्छ।’

नेपाल प्रहरीले पक्राउका लागि सहयोग मागेमा कुनै पनि कदम नउठाउन उनले भारतीय प्रहरी प्रशासनलाई आग्रह गरेका छन्।

आफूलाई आन्दोलनकारीको रुपमा प्रस्तुत: यादवले आफूलाई ‘मधेश जनविद्रोह’मा सामेल भएको दाबी गरेका छन्। उनले भारतले नेपालका आन्दोलनकारीलाई शरण दिँदै आएको र आन्दोलनकारी अपराधी वा हत्यारा नहुने तर्क गरेका छन्।

यादवले सर्लाही प्रहरीका एसपी र डीएसपीमाथि ‘गुण्डागर्दी’ गरेको आरोप लगाएका छन्। राति कार्यालय खोलेर कमिसन उठाएको आरोप लगाउँदै, यस विषयमा एसपीसँग कुरा गर्दा ‘साले’ भनेर गाली दिँदाप्रतिवाद गरेको उनको दाबी छ। प्रहरीले आफ्ना आफन्तको घरमा छापा मारेको आरोप पनि उनले लगाएका छन्।

यादवले भिडिओमा नागरिकता लगायतका विषयमा मधेशीलाई विदेशी बनाउने चलखेल भएको भन्दै विगतको आन्दोलनको समेत प्रसङ्ग उल्लेख गरेका छन्।

असार २३, २०८२ सोमबार ११:३३:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।