रुपन्देहीमा बस्ती जोखिममा पार्ने गरी नदीजन्य पदार्थको अवैध उत्खनन

बुटवल : रुपन्देहीका खोलानालाबाट मापदण्डविपरीत र बस्ती नै जोखिममा पार्ने गरी अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन भइरहेको छ। बुटवल-१२, सतगढीमा बस्तीलाई प्रत्यक्ष असर पार्ने गरी यस्तो उत्खनन भएको पाइएको छ।
सतगढी पुल निर्माण स्थलभन्दा २ सय मिटर उत्तरतर्फ खोलामा बुटवल-गोरुसिङ्गे सडक विस्तार आयोजनाको नाममा निर्माण व्यवसायीले बस्तीलाई जोखिममा पार्ने गरी उत्खनन गरेपछि स्थानीयले त्यसको प्रतिवाद गरेका छन्।
आशिष निर्माण सेवा नेपाल जेभीले खोलाबाट नदीजन्य पदार्थ उत्खनन गरी डम्पिङ गर्दै आएकोमा शनिबार र आइतबार २० भन्दा बढी टिप्पर प्रयोग गरी एकैपटक ठूलो मात्रामा पदार्थ निकालेको थियो।
खोलाको दुवै किनारमा बस्ती भएको र नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने समय असार महिनामै डोजरले धमाधम काम गरेपछि स्थानीयले विरोध गर्दै प्रहरीलाई खबर गरेका थिए।
स्थानीयको उजुरी तथा अनुरोधपछि प्रहरीले खोलाबाट एउटा डोजर र बा प्र ०६-००१ क ०३१४ नम्बरको टिप्पर नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक इन्द्र रानाले जानकारी दिए।
स्थानीय बुद्धिजीवी मीनबहादुर पुनले बस्तीलाई नै खतरामा पार्ने गरी जेसीबी चलाएपछि आफूहरूले रोकेर प्रहरीलाई खबर गरेको पुष्टि गरे।
बुटवल-चन्द्रौटा सडक विस्तार आयोजना कार्यालय प्रमुख इन्जिनियर कुशलता न्यौपानेले यस विषयमा स्थानीयबाट जानकारी आएको र निर्माण कम्पनीसँग स्पष्टीकरण माग गरिएको बताइन्।
‘आयोजनाको नाममा दुई सय मिटर परसम्म गएर उत्खनन गर्न पाइँदैन। भएको के हो, हामी बुझ्दैछौँ’, उनले भनिन्।
बुटवल-गोरुसिङ्गे सडक विस्तार आयोजना अन्तर्गत चिनियाँ कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप र आशीष निर्माण सेवा नेपाल जेभीले पुल निर्माण गरिरहेका छन्।
असार २३, २०८२ सोमबार ११:००:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।