अदालतको फैसलाविरुद्ध डाक्टरको आन्दोलनले देशभर स्वास्थ्य सेवा ठप्प, बिरामीको बिचल्ली

अदालतको फैसलाविरुद्ध डाक्टरको आन्दोलनले देशभर स्वास्थ्य सेवा ठप्प, बिरामीको बिचल्ली

काठमाडौं : उपभोक्ता अदालतले बिरामीको पक्षमा गरेको फैसलाको विरोधमा नेपाल चिकित्सक संघको आह्वानमा देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आज आकस्मिक बाहेकका सम्पूर्ण सेवा ठप्प पारिएको छ। यसका कारण उपत्यकासहित देशभरका स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामीहरू बिचल्लीमा परेका छन्।

नियमित स्वास्थ्य परीक्षण, फलोअप तथा अन्य उपचारका लागि अस्पताल पुगेका बिरामीहरूले सेवा नपाएपछि अलपत्र परेका हुन्। लामो समयदेखि पालो कुरेर बसेका र अपरेसनको मिति तय भइसकेका बिरामीहरूको शल्यक्रिया समेत रोकिएको छ।

देशका विभिन्न भागबाट राजधानी तथा अन्य ठूला शहरका अस्पतालमा रेफर गरिएका गम्भीर प्रकृतिका बिरामीहरुले समेत सास्ती भोग्नु परेको छ। बिहानै वीर अस्पतालको ओपीडीको टिकट काट्न गएका बिरामीहरू बन्द भएपछि निराश भएर अस्पताल परिसरमै बसेका छन्।

उपभोक्ता अदालतले हालसम्म ओम अस्पताल, हिमाल अस्पताल र ग्रान्डीसिटीका साथै उपचारमा संलग्न चिकित्सकलाई समेत क्षतिपूर्ति तिर्नुपर्ने गरी फैसला गरेपछि यसको विरोधमा चिकित्सक संघसहित नौ वटा स्वास्थ्य सम्बद्ध संगठनहरू आन्दोलनमा उत्रिएका हुन्। उनीहरू चिकित्सकीय लापरबाहीका मुद्दा नेपाल मेडिकल काउन्सिलले मात्र हेर्नुपर्ने परम्परालाई निरन्तरता दिनुपर्ने माग राखेका छन्।

सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवालाई अत्यावश्यक सेवा घोषणा गरी हडताल गर्न निषेध गरे पनि चिकित्सक संघले आज स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो।

यसअघि नै नेपाल चिकित्सक संघका महासचिव डा. सञ्चिव तिवारीलाई अदालतको अवहेलना सम्बन्धी मुद्दामा पाटन उच्च अदालतले कारण देखाऊ आदेश जारी गरिसकेको छ। अदालतको अवहेलना ठहरिए एक वर्षसम्म कैद वा जरिवाना वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।

अदालतको न्यायिक प्रक्रियालाई स्वीकार गरी पुनरावेदनमा जानुको सट्टा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको सेवा नै रोक्ने गरी आन्दोलनमा उत्रिएपछि यसको चर्को आलोचना भएको छ। चिकित्सक र उपभोक्ता अदालतबीचको विवादले प्रत्यक्ष रूपमा बिरामी मारमा परेका छन्।

आन्दोलनका कारण आज देशभरका हजारौं बिरामीहरू उपचारबाट वञ्चित भएका छन् भने स्वास्थ्य संस्थामा अन्यौल र तनावको स्थिति देखिएको छ। चिकित्सक संघले असार २० गतेदेखि चरणबद्ध आन्दोलन गर्दै आएकोमा आज आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेर सबैभन्दा कडा विरोध जनाएको हो।

संघले असार २४ गते सम्पूर्ण चिकित्सकहरूको नेपाल मेडिकल काउन्सिलको प्रमाणपत्र काउन्सिलमै बुझाउनेसमेत घोषणा गरेको छ।

असार २३, २०८२ सोमबार १०:०५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।