आफन्त र परिवारबाटै मारिन्छन् नागरिक, तीन वर्षमा कर्णालीमा ४१ जनाको हत्या

सुर्खेत : यही असार १७ गते राति रुकुमपश्चिमको चौरजहारी नगरपालिका-३ टाटागाउँकी ३० वर्षीया देविका बुढाथोकीको विभत्स हत्या भयो। हत्या गर्ने उनकै ३२ वर्षीय श्रीमान् चन्द्रबहादुर बुढाथोकी थिए।
उनले देविकालाई घाँटीमा खुकुरी प्रहार गरी हत्या गरे। सोही दिन इलाका प्रहरी कार्यालय चौरजहारीबाट गएको प्रहरी टोलीले चन्द्रबहादुरलाई खुकुरीसहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।
यस्तै, गत वैशाख २१ गते भेरीगंगा नगरपालिका-१२ स्थित झिंगेनारा खोलामा गुर्भाकोट नगरपालिका-८ की २६ वर्षीया प्रेमा ओलीको उनकै २८ वर्षीय श्रीमान् नेपाली सेनामा कार्यरत दर्शन खत्रीले हत्या गरे। वैशाख २२ गते मृतकका माइती पक्षले इलाका प्रहरी कार्यालय छिन्चुमा कर्तव्य ज्यान कसुरमा जाहेरी दर्ता गराएपछि प्रहरीले खत्रीलाई पक्राउ गरेको थियो।
त्यसैगरी, २०८० पुस २३ गते बनगाड कुपिण्डे नगरपालिका-११, सिस्नेपातलका ३ वर्षीया करिष्मा राना र ६ महिने राघवी रानालाई उनकै आमा २५ वर्षीया पूर्णिमा रानाले घाँटी थिचेर हत्या गरिन्। दुवै बालिकाहरू पुस २४ गते बिहान आफ्नै घरभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीले पूर्णिमालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
२०८० माघ १ गते सुर्खेतको पञ्चपुरी नगरपालिका-६, कुवापानीका २१ वर्षीय युवक भरत बुढाको उनकै ४५ वर्षीय बुवा नयराम बुढाले बञ्चरो प्रहार गरेर हत्या गरे। मृतकका काकाले माघ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि फरार रहेका उनी कैलालीको टीकापुरबाट पक्राउ परे। २०८१ जेठ ५ गते सुर्खेत जिल्ला अदालतको आदेशले उनलाई २० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
यी त केही प्रतिनिधिमूलक घटना मात्र हुन्। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्कअनुसार प्रदेशका १० जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा आफन्त वा परिवारका सदस्यबाट ४१ जनाको हत्या भएको छ। आर्थिक वर्ष २०७९/८० मा १०, २०८०/८१ मा २२ र २०८१/८२ को असार २२ गतेसम्म नौ हत्या परिवार र आफन्तबाटै भएका छन्।
सम्बन्धअनुसार हेर्दा, आ.व. २०७९/८० मा श्रीमानद्वारा श्रीमतीको हत्याका नौ, आ.व. २०८०/८१ मा नौ र आ.व. २०८१/८२ मा चार घटना छन्। श्रीमतीद्वारा श्रीमानको हत्या आ.व. २०८०/८१ मा दुई र आ.व. २०८१/८२ मा एक घटना छन्। यी तीन वर्षमा भाइद्वारा दाजुको हत्या दुई, बुवाद्वारा छोराको हत्या तीन, छोराद्वारा बुवाको हत्या दुई घटना रहेका छन्।
यसबाहेक सौतेनी आमाद्वारा छोरीको हत्या, भाउजुद्वारा देवरको हत्या, देउरानीद्वारा जेठानीको हत्या, भेनाजुद्वारा सालाको हत्या, मामाद्वारा भान्जाको हत्या, जेठाजुद्वारा बुहारीको हत्या, छोराद्वारा आमाको हत्या, बुहारीद्वारा सासुको हत्या र आमाद्वारा छोरीको हत्या एक/एक घटना रहेका छन्।
माथिको तथ्याङ्क हेर्दा श्रीमानद्वारा श्रीमतीको हत्याको संख्या बढी देखिन्छ। यी घटनामा आमाबाट छोरीको हत्या, छोराबाट आमाको हत्याजस्ता हृदयविदारक घटनाहरू पनि तथ्याङ्कमा समेटिएका छन्।
परिवारजनबाटै हत्या हुनमा आर्थिक, सामाजिक, मानसिक र यौनिक कारणहरू रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी माधवप्रसाद श्रेष्ठ बताउँछन्।
‘यस्ता घटनामा एउटा मात्रै कारण भन्ने छैन। त्यसमा विभिन्न विषयहरू हुन्छन्। अधिकांश हत्या आपसी विवाद, शंका, अविश्वास र बारम्बारको झगडाबाट भएको देखिन्छ,’ उनले भने, ‘श्रीमतीमाथि हुने हत्या प्रायः दम्पतीबीचको अधिकार असन्तुलन र लैंगिक हिंसाबाट प्रेरित देखिन्छ।’
उनका अनुसार धेरै घटनाका मुख्य कारक मदिरा सेवनपछिको झगडाबाट उत्पन्न भई मानसिक अस्थिरतासम्म पुग्ने गरेका छन्।
घरभित्र सुरक्षित हुने विश्वास विपरीत नजिकका नातेदारहरूबाटै हत्या हुनु कर्णालीमा बढ्दो सामाजिक विघटन र पारिवारिक सम्बन्धमा आएको संकट भएको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको आवाज संस्थाकी निर्देशक पवित्रा शाही बताउँछिन्।
‘महिलाको मुद्दामा पछिल्लो समय कम बहस पैरवी भएको छ। अर्को कुरा देखासिकी पनि एक हो,’ उनले भनिन्, ‘हत्या गरिएकाप्रति नकारात्मक आरोप नलगाई कानुनले मात्र होइन, समाजले पनि घरभित्रको हिंसा चिन्न र रोक्न भूमिका खेल्नुपर्छ।’
हत्या भएका परिवारहरू आर्थिक संकटसँगै बालबालिका अभिभावकविहीन बन्दा अर्को समस्या आउने गरेको उनको भनाइ छ।
मानवअधिकारको क्षेत्रमा कार्यरत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले परिवारजनबाट हत्या गरिएका यी घटनाले घरभित्रको असुरक्षा उजागर गरेको बताए।
‘पहिलो कुरा यस्ता घटनाको सजायमा समस्या छ। यदि सजाय भए पनि राजनीतिक रूपमा संरक्षण गर्ने, आममाफी दिने कुराले झनै प्रश्रय दिएको पाइन्छ,’ उनले भने, ‘घरमै यति धेरै हत्या हुनु भनेको राज्य, समाज र परिवार तीनवटै तह असफल भइरहेको देखाउँछ।’
उनले सामाजिक चेतना, महिला सुरक्षा र मानसिक स्वास्थ्यजस्ता क्षेत्रलाई सम्बोधन गर्न राज्यको सक्रियता नदेखिनु थप चिन्ताको विषय बनेको बताए। ‘नेपाल मानवअधिकार वर्ष पुस्तक २०२४’ मा आफन्त र अन्य पक्षबाट ३६ जनाको हत्या गरिएको उल्लेख छ। त्यस्तै, २०२५ मा २७ जनाको हत्या गरिएको इन्सेकसँग अभिलेख छ। यी संख्यामा महिला बढी छन्।
महिलामाथि हुने घरेलु हिंसासम्बन्धी कानुन भए पनि लागू गर्ने संयन्त्र कमजोर देखिँदा यस्ता घटनाहरू बढिरहेको अधिकारकर्मीहरूको भनाइ छ। पीडित महिलाको पक्षमा काम गर्ने सेफ हाउस, मनोपरामर्श, कानुनी सहायतालगायतका संरचना कर्णालीमा सीमित छन्। जसका कारण यस्ता घटना न्यूनीकरण गर्न चुनौती थपिएको छ।
असार २३, २०८२ सोमबार ०९:०७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।