५२ लागे कैलाश खेर : पत्रकार र गायिकाको तिघ्रा छोएको भन्दै यौन दुर्व्यवहारको आरोप, गंगामा हामफालेर ज्यान फाल्ने प्रयास

२१ बढी भाषामा दुई हजारभन्दा धेरै गीतमा प्राण भर्ने, आफ्नै अनौठो शैली र दमदार आवाजले करोडौं श्रोताको मनमा बस्ने र विश्वभरका कन्सर्टहरूबाट दर्शकलाई मन्त्रमुग्ध पार्ने गायक पद्मश्री कैलाश खेरको जीवन कथा कुनै फिल्मी पटकथाभन्दा कम छैन।
अभाव, निराशा, असफलता, र जीवन त्याग गर्ने सोचबाट गुज्रिएर सफलताको शिखर चुमेका उनले सफलताको उचाइमा पुगेपछि चरित्रमाथि प्रश्न उठ्ने गम्भीर आरोपहरूसँग जुध्नुपर्यो।
‘सैयाँ’, ‘अल्लाह के बन्दे’, ‘युँ हि चला चल हो’ जस्ता सयौं चर्चित गीतका गायक कैलाश आजबाट उमेरले ५२ वर्ष लागेका छन् यही अवसरमा उनको जीवनबारे केही जानौँ।
बाल्यकालमै सुरू भएको कठोर यात्रा:
कैलाशले १२ वर्षको उमेरमै घर छोडे। किशोरावस्थाका महत्वपूर्ण वर्षहरू उनले दिल्लीका सडकहरूमा बिताए। करिब ८-१० वर्षसम्म घुमन्ते जीवन जिउँदै, पेट भर्न र ओत लाग्नका लागि उनले दर्जनौं काम गरे।
कहिले सियो धागो समाएर दर्जी बने, कहिले ट्रक चलाए, कहिले मासिक १५० रुपैयाँमा बच्चाहरूलाई ट्युसन पढाए। एक वर्षसम्म छापाखानामा मजदुरी गर्दा पनि ज्याला नपाएको तीतो अनुभवले उनको बाल मनमा गहिरो छाप छोड्यो। लगातारको असफलताले घेरिएका कैलाशको मनमा जीवनप्रतिको निराशा बढ्दै गयो।
२० वर्षको उमेरमा साथीसँग मिलेर सुरू गरेको हस्तकलाको व्यवसाय पनि डुबेपछि उनलाई आफ्ना बुबाको इच्छा याद आयो- बुवा चाहन्थे उनी धार्मिक पुजारी बनून्। शायद, यही बाटोमा शान्ति मिल्छ कि भन्ने आशामा २१ वर्षको उमेरमा उनी धार्मिक अनुष्ठान सिक्न ऋषिकेश पुगे।
ऋषिकेशमा जीवन त्याग्ने प्रयास
ऋषिकेशको शान्त भूमिमा पुग्दा पनि कैलाशको मन अशान्त नै रह्यो। धार्मिक अनुष्ठान सिक्न आएका अन्य सहपाठीहरू आफूभन्दा निकै कान्छा (७ देखि ९ वर्षका) थिए।
२१ वर्षको उमेरसम्म आइपुग्दा जीवनमा कतै सफल नभएको र अब यो सानो उमेरका बच्चाहरूसँगै बसेर के गरिरहेको छु भन्ने मानसिक बोझले उनलाई पिरोल्यो। निराशा यति गहिरियो कि उनलाई लाग्यो- ‘भगवान, के म सबै कुरामा असफल हुँदैछु? अब मैले जीवन समाप्त गर्नुपर्छ।’
निराशाको चरम अवस्थामा पुगेका कैलाशले एक दिन जीवनको अन्त्य गर्ने अन्तिम प्रयासमा गंगामा हाम फाले। तर, मृत्युले पनि उनलाई स्वीकार गरेन। गंगा घाटमा उपस्थित एक व्यक्तिले उनलाई देखेर बचाए।
पौडी खेल्न नजान्ने व्यक्तिले किन हाम फालेको भनेर सोध्दा उनले आत्महत्या गर्न खोजेको बताए। त्यो सुनेर ती व्यक्तिले उनको टाउकोमा बेस्सरी थप्पड हाने। कैलाश भन्छन्, ‘त्यो एक थप्पडले मलाई जीवनको मूल्य बुझायो र मैले निर्णय गरेँ कि अब मैले जीवनमा केही गर्नुपर्छ।’
घाटको संगीत र मुम्बईको सपना
जीवनप्रतिको नयाँ दृढ संकल्पका साथ कैलाशले ऋषिकेशको गंगा घाटमा गाउन थाले। सुरूवातमा एउटा गीत गाएबापत उनले ५० रुपैयाँ पाउँथे। आरतीको समयमा उनले गाउँदा सन्तहरू भावविभोर भएर नाच्थे। यसले उनलाई आफ्नो आवाजमा मानिसहरूलाई खुसी पार्न सक्ने केही न केही त छ भन्ने महसुस भयो।
त्यही क्रममा उनले स्वामी परिपूर्णानन्द जी महाराजको ध्यान ताने। स्वामीजीले उनलाई हाँस्न र आफ्नो अद्वितीय प्रतिभालाई चिनेर त्यसलाई उपयोग गर्न प्रेरित गरे।
‘हाँस, भगवानले तिमीलाई एकदमै फरक प्रकाश दिनुभएको छ। त्यसको पूर्ण फाइदा उठाऊ’, स्वामीजीले भने। यसका साथै स्वामीले गीतहरूको एल्बम बनाउन मुम्बई जाने सल्लाहसहित एउटा ठेगाना दिए।
मुम्बईमा झट्का
स्वामीजीको आशीर्वाद र मुम्बईको ठेगाना बोकेर २००१ मा आशाको दियो बालेर कैलाश मुम्बई पुगे।
सन्यास आश्रममा बस्ने ठाउँ पाउने पूर्ण विश्वासका साथ आएका उनलाई त्यहाँ पुग्दा बस्ने व्यवस्था नभएको जानकारी दिइयो। यो उनको लागि अर्को ठूलो झट्का थियो। खल्तीमा सीमित पैसा बोकेर मुम्बई जस्तो सहरमा बस्ने ठाउँ खोज्नु जुन कल्पनाबाहिरको संघर्ष थियो। उनले स्थानीय लजमा दैनिक ५० रुपैयाँ तिरेर रात काट्न थाले।
कामको खोजीमा दिनरात स्टुडियोहरू धाउँदा मानिसहरू उनको अनौठो शैली, पहिरन र ‘पुजारी’ पृष्ठभूमिको उपहास गर्थे। धेरैले उनलाई भेट्नै चाहँदैनथे। फिल्ममा आउन मुम्बई धाउने अरूभन्दा फरक उनी ‘कैलाशा’ नामको आध्यात्मिक भावको एल्बम बनाउन चाहन्थे, जसको अवधारणा संगीत उद्योगका मानिसहरूलाई बुझ्न गाह्रो थियो।
लगातारको असफलता र उपहासले निराश बनेका उनी कहिलेकाहीं जुहू समुद्र तटमा एक्लै बसेर समुद्रलाई आफ्नो अन्तिम बासस्थान बनाउन बिन्ती गर्थे, जहाँ उनले दोस्रो पटक जीवन अन्त्य गर्नेबारे सोचे।
पहिलो सफलताको उज्यालो र ‘अल्लाह के बन्दे’को जादू
तर, भित्र लुकेको केही गर्ने तीव्र इच्छाशक्ति र दृढताले उनलाई अघि बढ्न प्रेरित गरिरह्यो। अथक प्रयासपछि, भाग्यले उनलाई संगीतकार राम सम्पतसँग जुरायो। राम सम्पतले उनलाई नक्षत्र डायमन्ड्सको विज्ञापन जिंगल गाउने पहिलो अवसर दिए।
यो उनका लागि जीवन परिवर्तन गर्ने क्षण थियो। यसबाट उनले पाँच हजार रुपैयाँ कमाए- जुन उनका लागि त्यो बेला कुनै खजानाभन्दा कम थिएन। पहिलो पटक उनको अनुहारमा चिन्ताका रेखाहरू कम भए। यसपछि विज्ञापन जिंगलहरूको लाइन लाग्यो, जसले मुम्बईका मानिसहरूमाझ उनको आवाज चिनाउन मद्दत गर्यो।
२००३ मा, संगीतकार विशाल-शेखरले फिल्म ‘वैसा भी होता है’ को लागि उनलाई ‘अल्लाह के बन्दे’ गीत गाउन लगाए। फिल्मले खासै राम्रो व्यापार नगरे पनि, यो एक मात्र गीतले कैलाशलाई रातारात करोडौंमाझ पुर्यायो र हरेक घरमा उनको आवाज गुन्जिन थाल्यो। यसपछि ‘स्वदेश‘ को ‘युँ हि चला चल हो’, ‘मंगल पाण्डे’ को ‘मंगल मंगल हो’ जस्ता गीतहरूले उनको सांगीतिक यात्रालाई उचाइमा पुर्यायो र सफलताको सिलसिला कहिल्यै रोकिएन।
सफलताकै बीच यौन दुर्व्यवहारका आरोप:
‘अल्लाह के बन्दे’ पछि कैलाश खेरले पछाडि फर्केर हेर्नुपरेन। उनी आफ्नो मेहनत, अभ्यास र आत्मविश्वासको बलमा लाखौं मानिसहरूका लागि प्रेरणाको स्रोत बने। उनलाई पद्मश्री उपाधिबाट पनि सम्मानित गरियो। तर, सफलताको शिखर चुम्दै गर्दा, उनको चम्किलो छविमाथि कालो बादल मडारिन थाल्यो। भारतमा चलेको #MeToo अभियानका क्रममा उनीमाथि यौन दुर्व्यवहारका गम्भीर आरोपहरू लागे।
गायिका सोना महापात्राले सामाजिक सञ्जालमा उनले आफूसँग कन्सर्टको विषयमा भेट्दा तिघ्रामा हात राखेर आपत्तिजनक व्यवहार गरेको र पछि पनि आफूलाई असहज महसुस गराएको आरोप लगाइन्। टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, फोटो पत्रकार नताशा हेमराजानीले पनि कैलाशले अन्तर्वार्ताका क्रममा आफू र आफ्नी साथीको तिघ्रामा हात राख्न खोजेको बताइन्।
एक विदेशी पत्रकारले पत्रकार सन्ध्या मेननमार्फत कैलाशले मस्कटमा भेट्दा कुराकानीका क्रममा पटकपटक तिघ्रा छुन खोजेको र असहज महसुस गराएको बताएकी थिइन्। यसबाहेक, अर्की एक महिलाले २०१४ मा कैलाशले आफूलाई आपत्तिजनक टेक्स्ट म्यासेज पठाएको आरोप लगाएकी थिइन्।
टेस्क्टमा ‘मसँग घुम्न आउ, तिमीले मसँग जति आफ्नो प्रेमी वा श्रीमानसँग रमाइलो गर्न सक्दैनौँ’ भन्ने वाक्यहरू लेखिएका थिए।
कैलाशको स्पष्टीकरण
यी सबै गम्भीर आरोपहरूको कैलाश खेरले भने खण्डन गरेका छन्। एक भारतीय सञ्चारमाध्यमसँगको कुरकानीमा उनले आफूमाथि लगाइएका सबै आरोपहरू गलत भएको दाबी गरे। आफू थाहा पाएर यस्तो कुनै घटना नभएको भन्दै, यदि कसैले गतल बुझाइ भएको भए त्यसका लागि माफी माग्न तयार रहेको बताएका थिए।
असार २३, २०८२ सोमबार ०८:१५:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।