टेक्सासमा बाढीमा परी ७८ जनाको मृत्यु, ४१ जना अझै बेपत्ता

एजेन्सी : अमेरिकी राज्य टेक्सासमा अचानक आएको बाढीमा हालसम्म ७८ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता छन्।
सबैभन्दा बढी क्षति केर काउन्टीमा भएको छ, जहाँ २८ बालबालिकासहित ६८ जनाले ज्यान गुमाएका छन्। राहत र उद्धार कार्य जारी छ। अधिकारीहरूले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्।
बाढीले केर काउन्टीको नदी किनारको शिविर मिस्टिकलाई असर पारेको छ। दस जना बालिका र एक सल्लाहकार अझै बेपत्ता छन्। यो क्षेत्र खोजी अभियानको मुख्य केन्द्रबिन्दु बनेको छ।
अधिकारीहरूका अनुसार अहिलेसम्म १० बालबालिकासहित २८ शवहरू भेटिएको छ। तर, उनीहरूको पहिचान हुन सकेको छैन।
शेरिफ ल्यारी एल लेथाले भने, ‘प्रत्येक व्यक्ति फेला नपरेसम्म हामी खोजी जारी राख्नेछौं।’
टेक्सासका गभर्नर ग्रेग एबोटले सबै बेपत्ता व्यक्तिहरूलाई खोज्न ‘कुनै कसर बाँकी नराखिने बताए।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले यस आपतकालीन अवस्थाको सामना गर्न स्थानीय अधिकारीहरूसँग नजिकबाट काम गरिरहेको बताएका छन्।
मौसम विभागले आगामी २४ देखि ४८ घण्टामा यस क्षेत्रमा आँधी आउन सक्ने चेतावनी दिएको छ, जसले राहत कार्यलाई असर गर्न सक्छ।
असार २३, २०८२ सोमबार ०७:४०:५६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।