व्यवस्थापक जुनुको प्रसव पीडा र खुसी : पहिल्यै डाक्टरले सन्तान हुँदैन भने, योजना नै बनाएनौँ

व्यवस्थापक जुनुको प्रसव पीडा र खुसी : पहिल्यै डाक्टरले सन्तान हुँदैन भने, योजना नै बनाएनौँ

बालाजुमा रहेको संवृद्धि स्कुलको एडमिन हुन्, जुनु कार्की। शिक्षण पेसा हुँदै बिजनेसमा पनि संलग्न उनी अहिले शिक्षा क्षेत्रमै फर्किएको तीन वर्ष हुन लाग्यो।

श्रीमान् पनि शिक्षा क्षेत्रमै भएकाले दुवै जना एक अर्कालाई समय दिन पाउने भन्दै सल्लाहमै उनी यसमा जोडिएकी थिइन्। भक्तपुरको संवृद्धि कलेजको स्थापनासँगै उनीहरू यसै क्षेत्रमा सक्रिय छन्।

सिन्धुपाल्चोकको साँगा चोकमा बाल्यकाल बिताएकी उनी उच्च शिक्षा पढ्न काठमाडौँ आएकी थिइन्। बाबा ड्राइभर अनि तीन दाइपछि जन्मिएकी उनले बाल्यकालमा परिवारको साथमै बिताइन्।

सानै देखि केही न केही काममा अल्झिरहनु पर्ने उनलाई कलेज पढ्न थालेपछि दिउँसोको समय बिताउन गाह्रो पर्यो। अनि आफैँले काम खोजेर गर्न थालिन्। कामकै सिलसिलामा उनको प्रेम बस्यो। अन्तर्जातीय विवाह प्रतिबन्ध जस्तै समयमा उनीहरूले भागेर विवाह गरेँ। अहिले उनी दुई सन्तानकी आमा हुन्।

उनै जुनुले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :

OOO

म क्षेत्री, उहाँ नेवार समुदायको। १५ वर्ष अघि अन्तर्जातीय विवाहका लागि पारिवारिक स्वीकृति पाउने अवस्था नै थिएन। अनि हामीले २०६७ मा भागेर विवाह गर्यौँ। विवाहपछि घरमा त तुरुन्तै स्विकार्नु भयो। तर माइतीमा स्विकार्न लामो समय लाग्यो। तर स्वीकारेपछि सम्बन्धमा समस्या भएन।

 विवाह अघि र पछि भने जीवनमा आकाश र जमिनको फरक पाएँ। बुहारी भएपछि  सीमित घेरामा परिने रहेछ। त्यसमाथि फरक समुदायको भएकाले परिवार र समाजमा भिज्न पनि समय लाग्यो।

म फेरि सानैदेखि अन्तर्मुखी स्वभावकी। अहिले त कामले गर्दा धेरै बोल्ने बानी पर्यो। तर पहिला यस्तो थिइन। बुहारीलाई घर बाहिर निस्किएर काम गर्न अझै पनि गाह्रो नै छ। कसैले केही भन्छन् कि भन्ने डर लाग्ने रहेछ। तर यो मेरो जिम्मेवारी हो भन्ने भए पछि हिम्मत आउने रहेछ।

बिहे भएको दुई वर्ष पछि हाम्रो पहिला सन्तान भयो। विवाहपछि सन्तान नयाँ विषय हैन भन्ने लाग्न सक्छ। तर हाम्रो लागि त्यो चमत्कार सरह नै थियो। बिहे अघि नै मेरो महिनावारी अस्वाभाविक उतारचढाव हुन्थ्यो। जँचाउँदा चिकित्सकले हाम्रो सन्तान नै हुँदैन समेत भनिसक्नु भएको थियो। अब बिहे अघि नै सन्तान हुँदैन भन्ने थाहा पाएको कारण हामीले सन्तानको योजना बनाउने, तयारी गर्ने कुरै भएन। 

बिहेपछि धेरै परिवर्तन भयो। म ध्यान, योगतिर पनि लागेँ। जेठाजु दाइले ओशो तपोवनमा ध्यानको लागि जाने सल्लाह दिनुभयो। सुरुमा म एक्लै गएँ। दोस्रो चरणमा श्रीमान् पनि साथै जानु भएको थियो। त्यहाँ ध्यानमा गएपछि पनि मैले मेरो जीवनमा नयाँपन पाएँ।

ध्यानको दोस्रो चरणमा म त्यही क्याम्पमै बेहोस भएछु। त्यस्तो कमजोरी अगाडि पनि भइरहेको हुन्थ्यो। तर सामान्य नै होला भन्ने भयो। तर जँचाउन जाँदा त गर्भवती भएको खबर पाएँ । त्यो खबर हाम्रो लागि अप्रत्याशित थियो।

अगाडि नै सन्तान हुँदैन भनिरहेको समयमा गर्भवती भएको खबर पाए पछि हामीले स्याहारमा केही कमी बाँकी राखेनौँ। पहिलो गर्भवतीको अवस्था अलि क्रिटिकल नै रह्यो । तीन महिना त पुरै बेड रेस्ट गर्नु परेको थियो।

गर्भावस्थामा मलाई शारीरिक दुखाइ खुब भएको थियो। फेरि म यति धेरै संवेदनशील रहेछु कि सानो दुखाइ पनि सहन नसक्ने। अहिले सम्झिँदा त्यो दुखाइ त्यति धेरै दुखाइ होइन रहेछ भन्ने लाग्छ। फेरि गर्भावस्थाको नौ महिनासम्म मलाई अरू केही पनि गाह्रो अप्ठ्यारो भएन। ग्यास्ट्रिक चैँ भएको थियो।

तीन महिना घरमा बेड रेस्ट गरेर बस्नुपर्दा दिन कटाउन धेरै गाह्रो हुन्थ्यो। तर ध्यान र योग गर्ने बानी भएकाले आफूलाई सम्हाल्न सकेँ। त्यस समयमा किताब पढ्ने, प्रवचन सुन्ने, भजन सुन्ने गरेर ध्यान एकीकृत गरेर बसेँ।

बरु अहिले ध्यानमा समय दिन पाइरहेको छैन। तर गर्भवती हुँदा ध्यान गरेको सकारात्मक असर अहिले बाबुमा देखिरहेको छ।

पहिलो सन्तान जन्मिने समय नजिकिदैं गर्दा मैले मेरो कपडा पुरै भिजेको महसुस गरेँ। भाउजू नर्स हुनुहुन्छ, उहाँलाई फोन गरेर सुनाउने बित्तिकै तुरुन्तै हस्पिटल जानु भन्नुभयो। हस्पिटल गयौँ तर त्यहाँ प्रसव व्यथा तीन दिनसम्म लाग्यो। त्यो बेला पनि आफूले दुखाइ सहन नसकेर त्यति धेरै गाह्रो भएको रहेछ भन्ने लाग्यो।

दुई दिनसम्म भाउजू साथमै हुनुभयो। तेस्रो दिनमा चैँ आमा साथमा बस्नु भएको थियो। त्यही रात मलाई गाह्रो भयो। शिथिल भएर म त सक्दिन होला भन्ने लागिसकेको थियो। पछि भाउजूले फोनबाटै हार मान्यो भने बच्चा र आमा दुवैलाई गाह्रो हुन्छ भनेर सम्झाउनु भयो।

लगभग १२ घण्टा पछि मैले बाबुलाई जन्म दिएँ । निकै कमजोर भएको कारण बेहोस नै भएछु। असारमा निकै पानी परिरहेको समय थियो। घाम नआएको कारण बाबुलाई जन्डिस भएछ। त्यसले गर्दा थप एक हप्ता हस्पिटलमा बस्न पर्यो। बाँकी स्तनपान, सुत्केरी स्याहार सब राम्रो भयो।

जन्मिने बित्तिकै बाबुलाई मेरो पेटमा राखेर देखाइएको थियो। त्यो क्षण बिर्सन नसक्ने छ। सरकारी हस्पिटलमा सिट, व्हील चियरको व्यवस्था गर्नै गाह्रो भयो। स्तनपान गर्न बाबुसम्म पुग्न केही असहज भएको थियो।

एक महिना पछि त माइती पनि गएँ। त्यसबेला मैले मेरो आमाबाट झन् धेरै कुरा सिक्न पाएँ। उहाँको ऊर्जा त हाम्रो अगाडि केही पनि होइन। उहाँले जसरी माया गरेर हामीलाई हुर्काउनु भयो त्यति माया त हामीले पनि आफ्नो सन्तानलाई दिन सक्दैनौँ होला। त्यसपछि त मैले पुरै दुई वर्ष बाबुलाई समय दिएँ।

तर त्यो दुई वर्ष फेरि मेरो जीवनमा कहिले पनि नफर्कियोस् जस्तो लाग्छ। सायद घर बाहिर काम गर्न पाएको भए त्यस्तो लाग्दैन थियो होला। तर घरमा गृहिणी भएर बस्न साँच्चै गाह्रो छ। कामको दुखाइ भन्दा पनि मलाई त्यस बखत मनको दुखाइ भएको थियो।

घरमा बस्दा आफै डिप्रेस्ड भएको जस्तो, दिमाग नै नचल्ने। त्यही भएर पनि म त कहिले पनि कसैलाई घरमै सीमित भएर बस्ने सुझाव दिन्न। घरको काम भनेको कहिले पनि नसकिने रहेछ।

मेरो हजुरआमा, आमा हुँदै मैलेसम्म गर्दा पनि घरको काम सकिएको छैन। जे होस् त्यस बखत हामी घरमा सीमित चैँ हुन नहुने रहेछ भन्ने बुझेँ।

पहिलो सन्तान नै अप्रत्याशित भएको थियो। दोस्रो पनि हुन्छ भनेर कल्पना नै गरेका थिएनौ। दोस्रो त अझ गर्भवती भएको पाँच महिना हुँदा मात्र थाहा भयो। महिनावारी गडबड भइनै रह्यो। अर्को बच्चा बस्यो भनेर सोचेकै थिइन। जँचाउन जाँदा पाँच महिना भइसकेको रहेछ। त्यतिका समय फेरि गर्भवतीको कुनै लक्षण देखिएकै थिएन।

दोस्रो सन्तानको समयमा अनुभवले पनि काम गर्यो । दुखाइ सहने बानी पनि पर्यो। त्यो बेलामा काम सुरु गरिसकेकाले काममा गइनै राखेँ। त्यतिखेर प्रसव व्यथा लागेको थाहा भए पनि घरमै बसिरहेको थिएँ। बाबु सानै थियो। उसलाई एक्लै छोडेर हस्पिटल जान सकिनँ।

श्रीमान् बिहानै निस्कनु हुने, राती अबेला मात्र आइपुग्नु हुन्थ्यो सधैँ। बाबुले लामो समय सम्म ‘मेरो बाबा कस्तो छ भन्ने पनि थाहा थिएन’ भन्थ्यो। मैले एक्लै हुर्काएको जस्तो भएकाले पनि बाबु मसँग पुरै निर्भर थियो।

त्यै भएर राती धेरै गाह्रो भयो भने चैँ बाबुलाई सुताएर हस्पिटल जान्छु भन्ने सोचको थिएँ। अनि भोलिपल्ट यसरी बसेर हुँदैन भनेर नुहाईधुहाइ गरेँ, बाबुलाई स्कुल पठाएँ, खाना बनाएर खाएँ अनि हस्पिटल गयौँ।

पोको पन्तुरो बोकेर हस्पिटल गएको बेला भएको छैन भनेर भनिदिनु भयो। हामी त यता न उता भएका थियौँ। अनि बाहिर बसिरहेको समयमा एकजना नर्स आएर चेक गर्दा सात घर खुलिसकेको रहेछ भनेर तुरुन्त लेभर रुममा लगियो। यति भइसक्दा पनि किन केही नगरेको भनेर अरूलाई उहाँले गाली पनि गरिदिनु भयो।

श्रीमान् भित्र जानु भएको थिएन। मैले फोन गरेर आमालाई बोलाउनु भनेँ । उहाँ त फेरि मलाई एक्लै छोडेर घर पो पुग्नु भएछ। मलाई अब ऊर्जा चाहिन्छ भनेर थाहा थियो। तर एक्लै थिएँ। अनि ग्लुकोज पानी बनाएर दिनु भनेर नजिकैको मान्छेलाई भनेँ। एक बोतल पानी घटघट पिएँ।

अझ बाबालाई मिस्री काँडा बनाएर पठाउनु पनि भनेँ। पहिलाको अनुभवले त्यति चैं बलियो बनाएको थियो। त्यसको केही समयमै नानी पनि जन्मियो। दुवै सन्तानबीच साढे तीन वर्षको उमेर अन्तर छ । सन्तान चैं दुईजना नै हुनु पर्ने रहेछ भन्ने लाग्छ।

एकजना मात्र हुँदा बाबु त पुरै ममा निर्भर थियो। तर अर्को पनि सन्तान भए पछि ठुलो दाइ भयो भन्ने भावना उसमा देखिएको थियो। सानै भए पनि मेरो बहिनी छ, बहिनीलाई माया गर्नु पर्छ भन्ने हुने रहेछ।

म सुत्केरी भएको दुई दिन देखिनै बच्चामा परिवर्तन देखेर अचम्म लाग्छ। अनि दोस्रोमा पनि मेरो दादा पनि छ भन्ने हुने रहेछ।

दुई जना सन्तानपछि एक अर्काको साथी नै उनीहरू हुने रहेछ। मलाई काममा जाँदा समस्या नै भएन। बाबुले बहिनीलाई मैले नै स्याहार गरेको जस्तो माया गर्ने।  उसको लागि बहिनी एकदम प्यारो।

सुरुको तीन वर्ष दुई जना सन्तानलाई सँगसँगै लान एकदम चुनौती भएको थियो। तर अहिले धेरै राम्रो लागिरहेको छ। एकै चोटि हुर्किएपछि मैले आफ्नो करियर पनि बढाउन पाएँ। अहिले दुवै जना स्कुल जान्छन्। हामी चारै जना सँगै छौँ।

असार २३, २०८२ सोमबार ००:००:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।