६१ लाख पारिश्रमिक पचाउन गाह्रो भएपछि माग्ने नै भन्न थाले 'हाइपका लागि भनेको हो, नपत्याउनु'

६१ लाख पारिश्रमिक पचाउन गाह्रो भएपछि माग्ने नै भन्न थाले 'हाइपका लागि भनेको हो, नपत्याउनु'

काठमाडौं : फिल्मको निर्माण सकिएर जब प्रचार सुरु हुन्थ्यो अनि फिल्मका कलाकारबीच प्रेम सम्बन्ध भएको समाचार आउन थाल्थ्यो। कलाकार फिल्म नचलेसम्म मौन बस्थे। जब फिल्म हलबाट उत्रिन्थ्यो अनि मात्र हल्ला मात्र हो भन्थे। फिल्मको चर्चा बढाउने यो फन्डा फ्लप भयो अब। अब चैँ फलाना कलाकारको यति पारिश्रमिक भन्ने फन्डा सुरु भएको छ।

यसमा सबैभन्दा अगाडि देखियो फिल्म माग्ने राजा अनि त्यसका लिड कलाकार केदार घिमिरे उर्फ माग्ने। फिल्मको पोस्टर सार्वजनिक गर्न आयोजित कार्यक्रममा पत्रकारहरूले त जम्मा ५० लाखको कुरा गरेका थिए। तर फिल्मकै निर्माताले ५० हैन ६१ लाख पारिश्रमिक दिएको र त्यो पनि कम भएको दाबी गरे। त्यो बेलामा कुर्सीमा बसेका घिमिरे मौन बसे।

शङ्का त थियो नै तर उनलाई दर्शकहरूले नै ६१ लाखे भनेर जिस्काउन थाले। फिल्मको कमजोर टिजर आएपछि फिल्मबाट ६१ लाख लिएर केदार माग्नेबाट धनी भएको तर टिजरको पारा हेर्दा निर्माता चैँ माग्ने हुने संकेत देखिएको भन्नेसम्मको प्रतिक्रिया आउन थाल्यो। ६१ लाखले बनाएको फिल्मको माइलेज त्यति लामो गएन। उल्टो ब्याक फायर हुन थाल्यो।

अनि केदार आफैँ फिल्मको हाइप (चर्चा) बढाउन मात्र ६१ लाख पारिश्रमिक लिएको भनेर भनेको तर त्यत्रो पैसा नलिएको भने। उनले खुसुक्क हैन, सार्वजनिक कार्यक्रममै यस्तो भनेका हुन्। आइतबार मिसेस् नेपाल वर्ल्डको पत्रकार सम्मेलनमा उनले हाइपका लागि बोलेको तर ६१ लाख नलिएको दाबी गरे। उनकै अगाडि फिल्मको निर्माताले भनेको विषय हो ६१ लाख। तर उनले ६१ लाख पारिश्रमिक नलिएको र त्यो नपत्याउन पो भने।

उनले भने,‘ हामीले हाइपको लागि यस्तो बोलेका हौँ। साँच्चै ६१ लाख कहाँ हो र?’ सञ्चार माध्यम र सामाजिक सञ्जालमा ‘नेपालको महँगा कलाकार’बनेर भाइरल भएका माग्ने बुढा, अहिले उल्टै ‘जसले प्रमाण ल्याउँछ, उसलाई ६१ लाख दिने’ भनेर चुनौती दिन थाले। त्यो चुनौती त उनकै निर्मातालाई दिए भइहाल्यो। भनेका उनैले हुन्।

असार सकिँदै छ। अब इन्कम ट्याक्स बुझाउने बेला पनि भयो। कतै ६१ लाख लिएको सार्वजनिक भएपछि तिर्नुपर्ने कर छल्न पो उनले यस्तो भनेका हुन् कि? हैन भने निर्माताले उनकै अगाडि सार्वजनिक कार्यक्रममा ६१ लाख दिएको भनेर भन्दा मौन बसेका केदार अहिले आएर आफैँ नपत्याउनु है भन्दै किन हिँडेको त? त्यही बेलामा हैन है किन भन्न सकेनन्? यो त लास्टै फट्याइँ भएन। यस्तो पाराले त माग्ने राजा हैन अब फटाहा राजा हुने जोखिम पो बढ्यो त। अनि यस्ता पाराले निर्माता माग्ने हुनबाट कसरी जोगिएलान्?

असार २२, २०८२ आइतबार २३:२६:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।