शिक्षा विधेयकबारे शिक्षक महासंघसँग सहमति गर्न सरकारलाई पाँच दिनको समय

शिक्षा विधेयकबारे शिक्षक महासंघसँग सहमति गर्न सरकारलाई पाँच दिनको समय
तस्बिर : रासस

काठमाडौं : शिक्षक महासंघसँग छलफल गरेर ‘विद्यालय शिक्षा विधेयक–२०८०’ मा सहमति जुटाउन प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधिको बैठकले सरकारलाई पाँच दिनको समय दिएको छ।

समितिको आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विधेयकबारे शिक्षक महासङ्घसँग केही बुँदामा सहमति गर्न बाँकी रहेको बताएपछि पाँच दिनको समय दिएको समिति सभापति अमरबहादुर थापाले बताए।

आइतबार बसेको बैठकमा विधेयकलाई छिटो टुङ्ग्याउन सांसदहरूले सरकार र समितिको ध्यानाकर्षण गराएका थिए। समिति सदस्य श्याम घिमिरेले शिक्षक महासङ्घसँग केही कुरा मिल्न बाँकी भएकाले विधेयकलाई टुङ्ग्याउन केही समय आवश्यक रहेको बताएका थिए।

समिति सदस्य छविलाल विश्वकर्माले सरोकार पक्षको अपनत्व हुने गरी विधेयक जारी गर्नुपर्ने भन्दै नमिलेको कुरा मिलाउन सबै लाग्नुपर्ने बताएका थिए। समिति सदस्य तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकको बढुवा पारदर्शी तरिकाले हुनुपर्नेमा जोड दिएकी थिइन्।

समिति सदस्य सरिता भुसालले ५० वटा बैठक विधेयकका सम्बन्धमा बसे पनि अझै निचोडमा पुग्न नसक्दा दुःख लागेको बताइन्। समिति सदस्य रेखा शर्माले विधेयकलाई त्यतिकै अड्काएर राख्न नहुने भन्दै चाँडो पारित गर्न आग्रह गरेकी थिइन्।

समिति सदस्य देवेन्द्र पौडेलले समितिमा पार्टीको ह्विप नलाग्ने भएकोले बहुमतले पास गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए। समिति सदस्य ईश्वरी घर्तीले शिक्षकको बढुवा समितिले तोकेअनुसार हुनुपर्नेमा जोड दिइन्। समिति सदस्य सुमना श्रेष्ठले विधेयकमा शिक्षकको मात्र नभएर विद्यार्थीका कुरा पनि समेट्नुपर्ने बताएकी थिइन्।

असार २२, २०८२ आइतबार २०:५१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।