नौ वर्षीय सालोसहित चार जनाको हत्याका आरोपीसमेत गम्भीर घाइते, घटनाको कारण खुलेन

नौ वर्षीय सालोसहित चार जनाको हत्याका आरोपीसमेत गम्भीर घाइते, घटनाको कारण खुलेन

भोजपुर : श्रीमतीलाई माइतमा राखेको रिसमा परिवारको सामूहिक हत्या भएको घटनाका रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ। प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेर शव परीक्षणका लागि जिल्ला अस्पतालमा ल्याएको हो।

भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले शनिवार बेलुका १६ वर्षीया श्रीमती मनीषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासू मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो।

उनीहरूको हत्यापछि आरोपी आफैँले घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिए। राई आफैँ पनि पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए। जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ।

मनीषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम विवाह भएको थियो। झगडापछि केही समयदेखि मनीषा माइतमै बस्दै आएकी थिइन्। भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए। आरोपी आफैँ गम्भीर घाइते भएकाले ससुराली आएका उनी एकै पटक सामूहिक हत्यामा किन संलग्न भए त्यसबारे खुलेको छैन।

उनको पेटमा धारिलो हतियारबाट लागेको चोटको कारण हत्यापछि उनले आत्महत्याको प्रयास गरेको हो या अन्य केही भएको हो सो समेत खुलेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएका छन्। पोस्टमार्टमपछि उनीहरू आएपछि दास संस्कार गरिने प्रहरीले जनाएको छ।

असार २२, २०८२ आइतबार २०:३८:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।